२०८३ जेष्ठ १४ गते बिहिवार

घर भत्काइँदाको पीडा सहन नसक्दा बल्खुमा ६१ वर्षीय पुरुष मृत फेला



घर भत्काइँदाको पीडा सहन नसक्दा बल्खुमा ६१ वर्षीय पुरुष मृत फेला
कमल कुमार शाही
स्वाभिमान खबर,वैशाख १८
काठमाडौं, राजधानीको बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडाको एउटा दर्दनाक दृश्य शुक्रबार सार्वजनिक भएको छ। बिहान आफ्नै घर भत्किएको दृश्य हेर्न नसक्ने भन्दै बाहिरिएका एक वृद्ध दिउँसो सोही क्षेत्रको खोलामा मृत अवस्थामा फेला परेका छन्।

मृतक ६१ वर्षीय ईन्द्रबहादुर राई भएको उनकी पत्नी सरिता राईले पुष्टि गरेकी छन्। उनका अनुसार बिहान घर भत्काइएपछि मानसिक रूपमा निकै विचलित भएका राई “हेर्न सक्दिनँ” भन्दै घरबाट निस्किएका थिए। तर केही घण्टामै उनको शव बल्खु खोलामा भेटिएको खबर आयो।

स्थानीयका अनुसार राईको परिवार विगत १६–१७ वर्षदेखि सोही सुकुमवासी बस्तीमा बसोबास गर्दै आएको थियो। उनी बल्खुस्थित तरकारी बजारमा श्रम गरेर परिवार चलाउँदै आएका थिए।
घटनास्थलमा अहिले उनका परिवारजन तथा स्थानीयको भीड लागेको छ। घटनाले बस्ती खाली गराउने कार्यप्रति थप संवेदनशीलता आवश्यक रहेको आवाजसमेत उठ्न थालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले भने घटनाबारे औपचारिक रूपमा मृत्युको कारण खुलाएको छैन। प्रहरीका अनुसार परिवारसँग समन्वय गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो घटनाले सुकुमवासी व्यवस्थापनका क्रममा मानवीय पक्षलाई बेवास्ता गर्दा कति गम्भीर परिणाम आउन सक्छ भन्ने प्रश्न फेरि उठाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार