२०८३ साउन १२ गते मङ्गलवार

राहदानी विभागअगाडि पार्किङ विवादपछि युवकले आत्मदाहको प्रयास, अवस्था गम्भीर



राहदानी विभागअगाडि पार्किङ विवादपछि युवकले आत्मदाहको प्रयास, अवस्था गम्भीर
कमल कुमार शाही
स्वाभिमान खबर, असार २५
काठमाडौं । काठमाडौंस्थित राहदानी विभागअगाडि पार्किङ गरिएको मोटरसाइकलमा महानगर प्रहरीले ‘व्हीललक’ लगाएपछि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। घटनामा गम्भीर घाइते भएका २५ वर्षीय गणेश नेपालीको हाल वीर अस्पतालमा सघन उपचार भइरहेको छ।

प्रहरीका अनुसार घटना राहदानी विभागअगाडि भएको हो। मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश नेपालीले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। त्यसपछि महानगर प्रहरीको टोलीले मोटरसाइकलमा ‘व्हीललक’ लगाएपछि उनी अत्यन्तै आक्रोशित बनेका थिए। केही क्षणमै उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका हुन्।

घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयले आगो निभाएर उनलाई उद्धार गरेका थिए। प्रहरीले तत्काल वीर अस्पताल पुर्‍याएको जनाएको छ।
वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियूष दाहालका अनुसार गणेशको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ। सुरुमा उनी केही समय बोल्न सक्ने अवस्थामा रहे पनि अहिले उनको अवस्था अत्यन्तै गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
अस्पताल पुगेका उनका दाइ मदन नेपालीका अनुसार उपचार सुरु हुनुअघि भाइसँग छोटो संवाद भएको थियो। मदनका अनुसार गणेशले, “बाबा–मम्मीलाई केयर गर्नु… यो सबै महानगरले गर्दा हो,” भनेका थिए। त्यसपछि उनी बोल्न नसक्ने अवस्थामा पुगेको दाइले बताएका छन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा पार्किङ गरिएको मोटरसाइकलमा ‘व्हीललक’ लगाएपछि गणेशले आवेगमा यस्तो कदम चालेको देखिएको प्रहरीले जनाएको छ।

परिवारका अनुसार गणेश विगत दुई वर्षदेखि काठमाडौंमा श्रीमती र झन्डै तीन वर्षीया छोरीसँग बस्दै आएका थिए। उनी राइड सेयरिङ सेवामार्फत मोटरसाइकल चलाएर परिवारको जीविकोपार्जन गर्दै आएका थिए। साथै, रोजगारीका लागि दुबई जाने तयारीसमेत गरिरहेका थिए।

आर्थिक रूपमा विपन्न परिवारका गणेश गाउँमा पर्याप्त रोजगारीको अवसर नपाएपछि काठमाडौं आएर संघर्ष गरिरहेका थिए। घटनापछि स्थानीय जनप्रतिनिधि तथा विभिन्न सामाजिक व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक आर्थिक तथा उपचार सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

यस घटनाले पार्किङ व्यवस्थापन, सेवाग्राहीसँगको व्यवहार तथा मानसिक तनावका विषयमा पुनः गम्भीर बहस सुरु गराएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहिवार