सुर्खेतमा पेस्तोल, लागुऔषध र संरक्षित वन्यजन्तुका सिङसहित दुई युवा पक्राउ
कमल कुमार शाही
स्वाभिमान खबर , साउन २ सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध, पेस्तोल, धारिलो हतियार (खुकुरी) र संरक्षित वन्यजन्तु जरायोको सिङसहित दुई युवा पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई गएराति करिब साढे ९ बजेतिर कालिन्चोकस्थित राधाकृष्ण मन्दिर नजिकैबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये एक जना वीरेन्द्रनगर–१२ का २३ वर्षीय विद्धान शाही रहेको खुलेको छ भने अर्का एकजनाले बारम्बार फरक नाम बताइरहेका कारण वास्तविक परिचय अझै पुष्टि हुन सकेको छैन। प्रारम्भिक बयानमा उनले आफ्नो नाम आदित्य घिमिरे बताएका छन्। तर, सो नामको प्रामाणिकता पुष्टि हुन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।
स्रोतका अनुसार पक्राउ परेकाहरूको साथबाट खुकुरी, एकथान पेस्तोल, १२ राउण्ड गोली, विभिन्न किसिमका लागुऔषध र दुर्लभ वन्यजन्तु जरायोको सिङ फेला परेको छ। उनीहरूले ती वस्तुहरू कहाँबाट ल्याए, कसरी ल्याए र के उद्देश्यका लागि साथमा राखेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ।
घटनाबारे तत्काल विस्तृत विवरण दिन नमिल्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले बताएका छन्। उनका अनुसार अनुसन्धानको हितका लागि हाललाई केही विवरण गोप्य राखिएको छ। यद्यपि, प्रहरीले आज दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत घटनाबारे आधिकारिक जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
प्रहरीले बरामद गरिएका सामग्रीहरू लागूऔषध कारोबार, अवैध हतियार सञ्चिती र वन्यजन्तु तस्करी जस्ता गम्भीर आपराधिक क्रियाकलापसँग सम्बन्धित रहेको प्रारम्भिक अनुमान गरेको छ। घटनाले वीरेन्द्रनगर क्षेत्रमा बढ्दो आपराधिक सक्रियताप्रति पनि चिन्ता थपिएको देखिन्छ।
पत्रकार सम्मेलनमा सार्वजनिक भएको तस्बिरहरू














प्रतिक्रिया दिनुहोस्