२०८३ असोज ५ गते सोमवार

कर्णालीका प्रेमकुमार बी.सी. बीमा व्यवसायमा नेपाल प्रथम



कर्णालीका प्रेमकुमार बी.सी. बीमा व्यवसायमा नेपाल प्रथम

कमल कुमार शाही

स्वाभिमान खबर, असोज -५ , सुर्खेत

सुर्खेतका प्रेमकुमार बी.सी. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम हुनुभएको छ।

भैरहवामा आयोजित कम्पनीको कार्यक्रममा उहाँलाई उक्त उपलब्धिका लागि सम्मान गरिएको हो। लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय बी.सी.ले निरन्तर मेहनत, अनुशासन, इमान्दारिता र ग्राहकप्रतिको प्रतिबद्धतालाई आफ्नो सफलताको आधार बताउनुभएको छ।

वि.सं. २०६८/०६९ मा नेशनल लाइफमा कर्मचारीका रूपमा व्यावसायिक यात्रा सुरु गर्नुभएका बी.सी.ले सुर्खेत र दैलेख शाखामा काम गर्नुभएको थियो। काठमाडौं सरुवा भएपछि भने कर्णालीमै रहेर बीमा क्षेत्रमा काम गर्ने उद्देश्यले उहाँ अभिकर्ताका रूपमा सक्रिय हुनुभएको हो।

बीमा क्षेत्रमा निरन्तर सक्रिय उहाँले सन् २०२० देखि लगातार MDRT हासिल गर्दै आउनुभएको छ। सन् २०२२ र २०२६ मा COT समेत पूरा गर्नुभएका बी.सी. यसअघि वि.सं. २०७८ र २०७९ मा सञ्जाल व्यवसायमा नेपाल तृतीय हुनुभएको थियो। उहाँ नेशनल लाइफको ‘ट्रिपल सेन्चुरियन’ समेत बन्नुभएको छ।

बी.सी.ले आफ्नो उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि कर्णालीको क्षमता र सम्भावनासँग जोडेर हेर्नुभएको छ। कर्णालीलाई विकटता र पछौटेपनका रूपमा मात्र नभई प्रतिभा, मेहनत र सम्भावनाको क्षेत्रका रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ।

बीमा व्यवसायमार्फत आर्थिक सुरक्षा, वित्तीय चेतना र स्वरोजगारका अवसर विस्तार गर्न सकिने बताउँदै उहाँले कर्णालीका युवालाई समेत यस क्षेत्रमा जोड्नुपर्नेमा जोड दिनुभएको छ।

कर्णालीबाट राष्ट्रिय स्तरमा प्राप्त बीमा व्यवसायको यो उपलब्धिले स्थानीय प्रतिभा र व्यावसायिक सम्भावनालाई राष्ट्रिय पहिचान दिलाउने अर्को उदाहरण प्रस्तुत गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार