पलाँता अस्पतालको सुरक्षामाथि प्रश्न उठेपछि स्थानीय प्याकुरेलले पालिका केन्द्र नजिकै जग्गा दिने इच्छा व्यक्त
कमल कुमार शाही
स्वाभिमान खबर,साउन २४
कालिकोट । कालिकोटको पलाँता गाउँपालिका–९, थिर्पु स्थित १५ शय्याको पलाँता अस्पतालमा स्वास्थ्यकर्मी माथि हातपात भएको घटनापछि अस्पतालको सुरक्षा र स्थानका विषयमा बहस सुरु भएको छ। घटनापछि स्थानीय हरि प्याकुरेलले अस्पताललाई गाउँपालिका केन्द्र आसपास सार्नुपर्ने अवस्था आए आफ्नो पुर्ख्यौली जग्गा उपलब्ध गराउन इच्छुक रहेको बताएका छन्।
अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. अली हैदर र स्टाफ नर्स शान्ता गिरीमाथि अस्पताल परिसरमै हातपात भएको घटना सार्वजनिक भएपछि स्वास्थ्यकर्मीको सुरक्षालाई लिएर चिन्ता व्यक्त भइरहेको छ। स्वास्थ्य सेवा प्रदान गर्ने संवेदनशील स्थानमै स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुःखद् भएको भन्दै स्थानीयस्तरबाट घटनाको आलोचना भइरहेको छ।
घटनापछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पलाँता गाउँपालिका–२ का स्थानीय हरि प्याकुरेलले अस्पतालको वर्तमान स्थान सेवाग्राही र स्वास्थ्यकर्मीका लागि असहज वा सुरक्षाका दृष्टिले जोखिमपूर्ण देखिएमा पालिका केन्द्र आसपास अस्पताल सार्न सकिने बताएका हुन्।
उनका अनुसार
थिर्पुमा रहेको पलाता गा पा को १५ सैया अस्पतालमा भएको तोडफोड र स्वास्थ्य क्रमी माथी भएको कुटपिटको घटना सामाजिक संजालमा देख्दा निकै भावुक बनायो । पालिका सेन्टर आसपास हुने अस्पताल पलाता र पचालझर्ना गाउँ पालिकाको सिमाना नजिकै रहेको छ । सेवाग्राही लाई समस्या त छ नै सुरक्षाको दृष्टिकोणले असुरक्षित भएको हो भने तत्काल अस्पताल गा पा केन्द्र आसपास सार्न सकिन्छ भने पलाता गा पा वडा न २ पालिका सेन्टर भन्दा १ किमि माथी लामाको जग्गा बाटोले छोयको अस्पताल लाई आवस्यक परे मेरो हक लाग्ने पुर्खेउली जमिन उपलब्ध गराउने वाचा गर्दछु ।
प्याकुरेलका अनुसार गाउँपालिका कार्यालयबाट करिब एक किलोमिटर माथि सडकले छोएको आफ्नो पुर्ख्यौली जमिन अस्पतालका लागि आवश्यक परे उपलब्ध गराउन आफू इच्छुक रहेको इच्छा व्यक्त गरे ।
उनले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्र सुरक्षित र सहज स्थानमा हुनुपर्ने भन्दै अस्पतालको दीर्घकालीन व्यवस्थापनबारे स्थानीय तहले आवश्यक अध्ययन गर्नुपर्ने धारणा राखेका छन्।
“अस्पतालको वर्तमान स्थान सेवाग्राहीका लागि समस्या र सुरक्षाको दृष्टिले पनि असुरक्षित देखिएको हो भने पालिका केन्द्र आसपास सार्न सकिन्छ,” भन्ने आशय व्यक्त गर्दै प्याकुरेलले आवश्यक परे आफ्नो पुर्ख्यौली जग्गा अस्पतालका लागि उपलब्ध गराउने इच्छा व्यक्त गरेका छन्।
पलाँता अस्पताल गाउँपालिका केन्द्रबाट टाढा तथा पलाँता र पचालझरना गाउँपालिकाको सीमाना नजिक रहेको क्षेत्रमा सञ्चालनमा छ। दुर्गम भौगोलिक अवस्थाका कारण स्वास्थ्य सेवा लिन आउने नागरिकले विभिन्न कठिनाइ भोग्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।
स्वास्थ्यकर्मीमाथि हातपातपछि सुरक्षाको प्रश्न ?
अस्पतालमा इन्टरनेट तथा वाइफाइ प्रयोग गर्न आएका स्थानीयसँग विवाद भएपछि स्वास्थ्यकर्मीमाथि हातपात भएको बताइएको छ। अस्पताल प्रशासनका अनुसार ओपीडी अगाडि मोबाइलमा भिडियो गेम खेलिरहेका स्थानीयका दुई किशोरलाई अस्पताल परिसरभन्दा बाहिर गएर मोबाइल चलाउन आग्रह गरेपछि विवाद बढेको थियो।
विवाद बढ्दै जाँदा सुरक्षा गार्डले उनीहरूलाई बाहिर निकाल्न खोजेपछि उनीहरूसहित अन्य व्यक्तिले स्वास्थ्यकर्मीमाथि हातपात गरेको डा. अलीको आरोप छ।
घटनामा स्टाफ नर्स शान्ता गिरीको पिठ्यु, निधार र अनुहारमा चोट लागेको तथा मेडिकल अफिसर डा. अलीको आँखाको डिलमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।
घटनापछि डा. अलीले कुटपिटमा संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय थिर्पुमा निवेदन दिएको बताएका छन्। इलाका प्रहरी कार्यालय ले घटना मा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको बताएको छ।
अस्पताल प्रशासनले स्थानीयबाट यसअघि पनि स्वास्थ्यकर्मीलाई विभिन्न किसिमले दुःख दिने गरेको गुनासो गर्दै आएको जनाएको छ। अस्पताल परिसरमा गाईवस्तु छाडिदिने, स्वास्थ्यकर्मीलाई धम्क्याउने तथा आवतजावतमा समेत अवरोध गर्ने गरिएको प्रशासनको भनाइ छ।
अस्पताल सार्ने प्रस्तावमा के हुन्छ निर्णय ?
पलाँता अस्पताललाई तत्काल स्थानान्तरण गर्ने विषयमा कुनै औपचारिक निर्णय भइसकेको छैन। तर पछिल्लो घटनापछि अस्पतालको स्थान, सेवाग्राहीको पहुँच र स्वास्थ्यकर्मीको सुरक्षा तीनवटै विषयमा पुनर्विचार गर्नुपर्ने आवाज उठेको छ।
स्थानीय हरि प्याकुरेलले जग्गा उपलब्ध गराउन सकिने इच्छा व्यक्त गरेपछि अस्पताललाई गाउँपालिका केन्द्र आसपास सार्ने सम्भावनाबारे बहस थप चर्किएको छ।
अब गाउँपालिका, स्वास्थ्य क्षेत्रका सम्बन्धित निकाय, स्थानीय नागरिक र स्वास्थ्यकर्मीबीच छलफल गरी अस्पतालको दीर्घकालीन स्थान निर्धारण गर्नुपर्ने देखिन्छ।
दुर्गम क्षेत्रमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पताल नै असुरक्षित हुने अवस्था सिर्जना भए त्यसको प्रत्यक्ष असर स्वास्थ्यकर्मीको मनोबल र सेवाग्राहीको स्वास्थ्य सेवामा पर्ने भएकाले सुरक्षाको विषयलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ।
अस्पताल स्थानान्तरण गर्ने निर्णय भएमा भौगोलिक पहुँच, सडक सुविधा, सेवाग्राहीको संख्या, भवन तथा पूर्वाधार, स्वास्थ्यकर्मीको आवास र सुरक्षा लगायतका विषयमा प्राविधिक अध्ययन आवश्यक हुनेछ।
पलाँता अस्पतालमा भएको पछिल्लो घटनाले एउटा कुटपिटको घटनामात्र नभई दुर्गम क्षेत्रमा स्वास्थ्य संस्था कसरी सुरक्षित, सहज र सेवामैत्री बनाउने भन्ने ठूलो प्रश्नसमेत उठाएको छ।













प्रतिक्रिया दिनुहोस्