२०८३ साउन १४ गते बिहिवार

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदै छ 



७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदै छ 
स्वाभिमान खबर ,फागुन ७
कमल कुमार शाही

काठमाडौं । आज, फागुन ७ गते, नेपालले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै छ । २००७ साल फागुन ७ गते नेपाली जनताले १०४ वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाइन्छ। नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

यस अवसरमा, काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ, जसमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहनेछ। समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।

देशका विभिन्न स्थानहरूमा प्रजातन्त्र दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना भएका छन्। गोरखामा फागुन ६ देखि ८ गतेसम्म तीन दिने कार्यक्रमहरू सम्पन्न भएको छ ।जसमा प्रभातफेरी, आगलागी नियन्त्रणसम्बन्धी नमूना अभ्यास, र रानीवनमा अग्नीरेखा निर्माण तथा सरसफाइ अभियान संचालन गरिएको थियोे ।

सर्लाहीमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रादेशिक अस्पताल मलंगवामा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। त्यसैगरी, प्रभातफेरी, रक्तदान, मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, र दीप प्रज्वलन जस्ता कार्यक्रमहरू पनि यस अवसरमा आयोजना गरिएका छन्।

सरकारले प्रजातन्त्र दिवसको अवसरमा आज देशैभरी सार्वजनिक बिदा दिएको छ, ताकि नागरिकहरूले यस ऐतिहासिक दिनलाई सम्मानपूर्वक मनाउन भनेर ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार