चैनपुरमा शिक्षकमाथि खुकुरी प्रहार, सुरक्षामा चुनौती
कमल कुमार शाही
स्वाभिमान खबर, भदौ १६, बझाङ
बझाङ । बझाङको चैनपुर नगरपालिका–१ मा अङ्ग्रेजी विषयका एक शिक्षकमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका छन्। माइतिबन माध्यमिक विद्यालय र रनाडा माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक धुर्बराज रोकायामाथि आइतबार साँझ चैनपुरको खुलामञ्च नजिकै आक्रमण भएको हो।
घाइते शिक्षकले आफन्तलाई दिएको जानकारी अनुसार बेलुकी करिब ६–७ बजेतिर घरतर्फ जाँदै गरेका रोकायामाथि अपरिचित व्यक्तिले पैसा माग्ने क्रममा आक्रमण गरेको हो। रोकायाले आफूले दिएको बयानमा भनेका छन्, “उसले रु. १,००० माग्दा मैले रु. ५०० मात्रै छ भनेपछि ‘हजार पनि छैन’ भन्दै पछाडिबाट खुकुरी प्रहार गर्यो। केही अगाडि गएपछि म अर्धचेत भई ढलेँ,”।
प्रहारबाट घाइते भएका रोकायाको अवस्था सामान्य रहेको बताइएको छ। उनलाई तत्कालै उपचारका लागि धनगढीस्थित मेट्रो अस्पताल लगिएको छ।
घटनापछि आफन्तहरूले थप उजुरीका लागि तयारी गरिरहेको र प्रहरीले अनुसन्धान थालेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आक्रमणमा संलग्नको पहिचान खुल्न बाँकी छ भने घटनाबारे थप विवरण संकलन भइरहेको छ।
स्थानीयवासीले शैक्षिक वातावरणमै रहेका शिक्षक सुरक्षित नभएको अवस्थामा सुरक्षाप्रति गम्भीर प्रश्न उठेको बताएका छन्।













प्रतिक्रिया दिनुहोस्