२०८३ कार्तिक १० गते सोमवार

बाढीको पीडामा विश्वविद्यालयको साथ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५४ लाख जम्मा



बाढीको पीडामा विश्वविद्यालयको साथ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५४ लाख जम्मा

कमल कुमार शाही

स्वाभिमान खबर, असोज ८

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५४ लाख ४८ हजार २ सय ८९ रुपैयाँ सहयोग गरेको छ।

विश्वविद्यालयका उपकुलपति इन्जिनियर डा. राजन सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमार्फत विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट रकम संकलन गरी उक्त कोषमा जम्मा गरिएको जानकारी दिएका हुन्।

विश्वविद्यालयका अनुसार रसुवाको भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति मध्यपश्चिम विश्वविद्यालय परिवार दुःखी र मर्माहत भएको जनाएको छ।

बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका व्यक्तिप्रति विश्वविद्यालय परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ।

विपद्को कठिन घडीमा प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यमा सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विश्वविद्यालयमा कार्यरत सम्पूर्ण पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट एकमुष्ट रकम संकलन गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले संकलित रु. ५४,४८,२८९ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नेपाल बैंकमा रहेको खातामा विश्वविद्यालयको नामबाट जम्मा गरेको हो। रकम जम्मा गरिएको बैंक भौचरसमेत पत्रसाथ संलग्न गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।

उपकुलपति डा. सुवालद्वारा हस्ताक्षरित पत्रमा उक्त सहयोग रकमलाई विपद् पीडितको उद्धार, खोज तथा राहत कार्यमा प्रयोग गर्न अनुरोध गरिएको छ।

मध्यपश्चिम विश्वविद्यालयको यो सहयोगले विपद्का बेला शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको राहत तथा उद्धारमा हातेमालो गरेको सन्देश दिएको छ।

विश्वविद्यालयको चिठी सहित बैंकको चेक समेत

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार