२०८२ चैत्र १९ गते बिहिवार

इनिसा विक हत्याकाण्ड : पोस्टमार्टमले देखायो बलात्कारपछि मृत्यु, चार किशोर नियन्त्रणमा



इनिसा विक हत्याकाण्ड : पोस्टमार्टमले देखायो बलात्कारपछि मृत्यु, चार किशोर नियन्त्रणमा
कमल कुमार शाही
स्वाभिमान खबर, २७ फागुन ।
सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएकी १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्ट ले बलात्कार पछि हत्या भएको पुष्टि गरेको हो।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार घटनाकै दिन फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो। त्यसपछि थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका १६ वर्षीय किशोर र मृतक इनिसाबीच विगत दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको भनाइ छ। पूर्व सल्लाहअनुसार फागुन २३ गते बिहान उनीहरू शहीद पार्क घुम्न जाने भन्दै पार्क नजिकैको जंगल क्षेत्रमा गएको देखिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा जबरजस्ती करणी हुँदा पीडितको संवेदनशील अंग गम्भीर रूपमा च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश अस्पताल कालागाउँका तीन जना चिकित्सक तथा भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यसहितको टोलीले पोस्टमार्टम रिपोर्ट तयार पारेको हो। बुधबार आएको उक्त रिपोर्टमा जबरजस्ती करणीका क्रममा संवेदनशील अंग च्यातिँदा अत्यधिक रक्तस्राव भई मृत्यु भएको उल्लेख गरिएको छ।
डा. शाक्यका अनुसार पीडितको संवेदनशील अंग पूर्ण रूपमा च्यातिएको र पाठेघरसम्म गम्भीर घाउ देखिएको छ। “संवेदनशील अंग च्यातिएपछि अत्यधिक रक्तस्राव भएको देखिन्छ, जसका कारण मृत्यु भएको पुष्टि हुन्छ,” उनले बताए।

यस घटनापछि दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग गर्दै देशभरबाट आवाज उठ्न थालेको छ। बुधबार पीडित परिवार, आफन्त तथा विभिन्न अधिकारकर्मीहरूले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गर्दै न्यायको माग गरेका छन्।

प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेत पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। साथै विभिन्न अधिकारवादी संस्थाहरूले पनि घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन राज्यसँग माग गरेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार