२०८३ बैशाख ३ गते बिहिवार

गुजरातबाट हराएका अछामका दुई युवक दिल्ली–नोयडा जेलमा भेटिए, कारण अझै रहस्यमय



गुजरातबाट हराएका अछामका दुई युवक दिल्ली–नोयडा जेलमा भेटिए, कारण अझै रहस्यमय
कमल कुमार शाही
स्वाभिमान खबर, चैत ३०
भरतको गुजरातको आदिपुरबाट गत अप्रिल ४ तारिखदेखि सम्पर्कविहीन भएका अछामका पञ्चदेव विनायक नगरपालिका दुई युवक कमल शाही र गोरख मल्ल भारतको दिल्ली–नोयडा जेलमा सकुशल अवस्थामा फेला परेका छन्। लामो समयसम्म परिवारसँग सम्पर्कविहीन रहेका उनीहरूको अवस्थाबारे खुलेपछि परिवारजनले केही राहत महसुस गरेका छन्।

उनीहरू अचानक हराएपछि परिवार र आफन्तहरू अत्यन्तै चिन्तित बनेका थिए। विभिन्न माध्यमबाट खोजी गर्ने क्रममा हाल उनीहरू दिल्ली–नोयडा जेलमा रहेको पुष्टि भएको हो। तर, उनीहरू किन र कसरी जेल पुगे भन्ने विषय अझै रहस्यकै घेरामा रहेको छ।

प्राप्त जानकारी अनुसार, उनीहरूलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको भए पनि पक्राउ गर्नुको स्पष्ट कारण सार्वजनिक गरिएको छैन। के कारणले उनीहरूलाई पक्राउ गरियो, कस्तो कसुरमा सजाय हुन सक्छ, वा उनीहरू संलग्न भएको भनिएको घटना के हो भन्नेबारे आधिकारिक जानकारी आउन बाँकी छ।

त्यसैगरी, गुजरातबाट दिल्लीसम्म कसरी ल्याइयो भन्ने विषय पनि खुल्न सकेको छैन। यसले घटना थप शंकास्पद बनेको छ। परिवारले उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

पीडितका परिवारजनले नेपाल सरकार तथा सम्बन्धित दूतावाससँग आवश्यक पहल गरिदिन माग गरेका छन्, ताकि उनीहरूको वास्तविक अवस्था, आरोप र कानुनी प्रक्रिया बारे स्पष्ट जानकारी प्राप्त होस्।

यस घटनाले वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि भारत गएका नेपाली नागरिकहरूको सुरक्षा र कानुनी अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार