धान रोपाइँमा झण्डा गाडेको आरोप? रुकुम पश्चिममा खेतमै पुग्यो प्रहरी
कमल कुमार शाही
स्वाभिमान खबर रुकुम पश्चिम, साउन २० –
नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) रुकुम पश्चिमले आफ्ना उत्पादन केन्द्रमा आयोजना गरेको धान रोपाइँ कार्यक्रम अहिले प्रहरी प्रशासनको निगरानीमा परेको छ। ‘उत्पादन पनि राजनीति हो’ भन्ने नारासहित आयोजित कार्यक्रम भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि खेतमा झण्डा गाडिएको भन्दै प्रहरी अधिकारीहरू कार्यक्रम सम्पन्न भइसकेपछि सोधपुछसहित घरदैलोमा उत्रिएका छन्।
पार्टी कार्यकर्ताका अनुसार, उनीहरूको स्थायी निवासमा प्रहरी टोली आइपुगेको थियो। “म काम विशेषले सदरमुकाम गएको बेला प्रहरी साथिहरू घर आइपुग्नुभएछ,” एक कार्यकर्ताले बताए। घरमा रहेका उनका भाइ जीवनसँग प्रहरी टोलीले सोधपुछ गरेको र सोधिएका प्रश्नहरू राजनीतिक पूर्वाग्रहयुक्त देखिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
प्रहरी टोलीले सोधेका केही प्रश्नहरू यस्ता थिए:
जग्गा कब्जा गरिएको हो कि होइन?
उक्त जग्गा कसको हो? धनीको नाम के हो?
धान रोपाइँमा कति जनाको टोली थियो?
कार्यक्रमको नेतृत्व कसले गरे? नाम, पद, मोबाइल नम्बर के हो?
खेतमा झण्डा किन गाडिएको थियो?
कार्यकर्ताहरूले यस घटनालाई राजनीतिक गतिविधिमा अनावश्यक हस्तक्षेप भन्दै आपत्ति जनाएका छन्। उनीहरूको तर्क छ—”उत्पादनसँग जोडिएको सकारात्मक र श्रमशील अभियानलाई पनि राज्यले संकास्पद दृष्टिले हेर्नु दुर्भाग्यपूर्ण हो।”
“राज्य अझै पनि शंका गर्छ, जब हामी खेतमा पस्छौँ…”
एक कार्यकर्ता भावुक हुँदै भन्छन्, “हिजो राती १२ बजे पहरा दिन्थ्यौं, आज खेत जोत्न जाँदा पनि शंका गरिन्छ। आखिर हामी किसान हौं कि अपराधी?” उनले थपे, “धान रोप्नु अपराध हो भने हामी किसानले के गर्नु?”
कार्यक्रम शान्तिपूर्ण र श्रममुखी भएको भन्दै कार्यकर्ताहरूले सोधपुछको शैलीप्रति असन्तुष्टि प्रकट गरेका छन्। साथै, राज्यले यस्ता गतिविधिप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने माग गरिएको छ।
: अनुसन्धानको दिशा फेर्न आवश्यक
एक नेताले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “अनावश्यक खोजतलासी हामी सामान्य श्रमिक र कृषकहरूप्रति होइन, यो देशको सम्पत्तिमा ब्रम्हलुट मच्चाउने भ्रष्ट तत्त्वहरू र राष्ट्रघातिहरूप्रति केन्द्रित हुनु आवश्यक छ।” उनले थपे, “प्रहरी प्रशासनको ध्यान सही ठाउँमा जाओस्, जसले देशको भलो गर्छ।”
रुकुम पश्चिममा सम्पन्न धान रोपाइँ कार्यक्रम एक कृषिमा आधारित राजनीतिक अभियान थियो वा जनताको श्रमसँग जोडिएको सरल अभ्यास — यसको मूल्यांकन समाजले गर्नेछ। तर कार्यक्रम सम्पन्न भइसकेपछि प्रहरी हस्तक्षेप र सोधपुछ हुनु भने सामान्य राजनीतिक कार्यकर्तामाथिको राज्य निगरानी अझै हटेको छैन भन्ने संकेत अवश्य दिन्छ।














प्रतिक्रिया दिनुहोस्