संविधान दिवसमा दिप प्रज्वलन गर्दै जेन जि आन्दोलनमा जलेको प्रहरी बिट पुन निर्माण
विकास जि .सी.
स्वाभिमान खबर , असाेज ३ वीरेन्द्रनगर सुर्खेत
संविधान दिवसको अवसर पारेर वीरेन्द्रनगरका युवाहरूले विशेष कार्यक्रममार्फत दिप प्रज्वलन गर्दै जेन जि आन्दोलनका क्रममा जलेको प्रहरी बिटमा रङरोगनसहित पुनर्निर्माण गरेका छन्।
वीरेन्द्रनगर वडा नं. १० र ११ का युवाहरूको संयुक्त सक्रियतामा शुक्रबार साँझ पिपिरा चौकमा नेपालको नक्सा कोरेर दिप प्रज्वलन गरिएको थियो। संविधान दिवसलाई स्मरण गर्दै उनीहरूले देश र जनताको अधिकार सुरक्षित गर्न संविधानको भूमिकामाथि जोड दिएका थिए।
यसै क्रममा जेन जि आन्दोलनका क्रममा जलेर जीर्ण बनेको वीरेन्द्रनगर–११, पिपिरास्थित प्रहरी बिटमा नयाँ रङ लगाइएको छ। साथै, प्रहरी बिटमा लाइट र पङ्खाको व्यवस्था गरिएको छ भने युवाहरूले पिपिरा चौकमा राष्ट्रिय झण्डा प्रतिस्थापन समेत गरेका थिए।
कार्यक्रममा सहभागी युवाहरूले संविधान दिवसलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारिक कार्यमार्फत समाजमा सकारात्मक सन्देश दिने प्रयास गरेको बताएका छन्। उनीहरूले अराजकता र हिंसाले कुनै पनि समस्या समाधान नहुने भएकाले परिवर्तनका लागि सांकेतिक र रचनात्मक गतिविधि आवश्यक हुनेमा जोड दिएका छन्।
स्थानीय नागरिक र युवाको संयुक्त पहलमा भएको दिप प्रज्वलन कार्यक्रममा सुरक्षाकर्मीहरूको समेत उपस्थिति थियो। संविधान दिवसलाई अवसर बनाई वीरेन्द्रनगरका युवाहरूले गरेको यस कार्यलाई स्थानीयले सामाजिक ऐक्यबद्धताको प्रतिकका रूपमा लिएका छन्।













प्रतिक्रिया दिनुहोस्