बुलबुले उद्यानमा वन्यजन्तु सप्ताह: चराचुरुङ्गी अवलोकनसँगै सरसफाइ अभियान सम्पन्न
कमल कुमार शाही
स्वाभिमान खबर, बैशाख ६
सुर्खेत। ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह २०८३ को अवसरमा सुर्खेतस्थित बुलबुले उद्यानमा “चराचुरुङ्गी अवलोकन तथा सरसफाइ कार्यक्रम” उत्साहपूर्वक सम्पन्न गरिएको छ। “सुरक्षित मानिस, संरक्षित वन्यजन्तु: जैविक विविधताको सदुपयोग समृद्धिको सेतु” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो।
नेपाल जोलोजिकल सोसाइटी कर्णाली प्रदेश, निका कर्णाली तथा मध्यपश्चिम विश्वविद्यालयअन्तरगत ग्र्याजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीको संयुक्त आयोजनामा वैशाख ५ गते सम्पन्न कार्यक्रममा विद्यार्थी, प्रोफेसर युवा तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत सहभागीहरूले बुलबुले उद्यान परिसरमा सरसफाइ गर्दै प्लास्टिक तथा अन्य फोहोर संकलन गरेका थिए। साथै चराचुरुङ्गीको प्रत्यक्ष अवलोकन गरी तिनको बासस्थान, व्यवहार र संरक्षणका उपायबारे जानकारी आदान–प्रदान गरिएको थियो।
आयोजक संस्थाका प्रतिनिधिहरूले जैविक विविधता संरक्षणका लागि स्थानीय तहमा यस्ता कार्यक्रम आवश्यक रहेको औँल्याए। उनीहरूले वन्यजन्तु र मानवबीच सन्तुलन कायम राख्न सचेतना अभिवृद्धि अपरिहार्य भएको बताए।

कार्यक्रममा सहभागीहरूले वातावरणीय संरक्षणमा व्यक्तिगत तथा सामूहिक जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिएका थिए। “आजको सानो प्रयासले भोलिको ठूलो परिवर्तन सम्भव छ,” भन्दै उनीहरूले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रमले बुलबुले उद्यान क्षेत्रलाई सफा राख्नुका साथै जैविक विविधताको महत्वबारे समुदायलाई सन्देश प्रवाह गरेको आयोजकको विश्वास रहेको छ। साथै, यसले युवाहरूलाई प्रकृति संरक्षणतर्फ प्रेरित गर्दै सामाजिक उत्तरदायित्वको भावना समेत विकास गरेको छ।
केही तस्बिरहरु














प्रतिक्रिया दिनुहोस्