२०८२ चैत्र १९ गते बिहिवार

शाहीप्रति कालिकोटका युवा हरीको चर्को प्रश्न: गोली-छर्राको हिसाब कालिकोटका सहिदले के पाए?- हरी प्याकुरेल ( हरी सी)



शाहीप्रति कालिकोटका युवा हरीको चर्को प्रश्न: गोली-छर्राको हिसाब कालिकोटका सहिदले के पाए?- हरी प्याकुरेल ( हरी सी)
स्वाभिमान खबर, माघ २७
कालिकोट
कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा जनयुद्धका कमान्डर महेन्द्र बहादुर शाहीप्रति कालिकोटका युवा हरि प्याकुरेलले कडा प्रश्न गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा शाहिलाई लक्षित गर्दै प्याकुरेलले शाहीको भौतिक संरचना निर्माणको खण्डन नगरे पनि सहिद परिवार र घाइते योद्धाहरूको लागि नीतिगत उपेक्षा भएको भन्दै चर्को आलोचना गरेका हुन्।”यदि गोली र छर्राको हिसाब खोज्दै जाने हो भने कालिकोटका सहिद परिवार र घाइते योद्धाहरूले के पाए?” प्याकुरेलले लेखेका छन्।

सहिदले शाहीलाई मन्त्री र मुख्यमन्त्री बनाएर सावा-ब्याज चुक्ता गरेको भन्दै कर्णालीको दुर्गममा छटपटाइरहेका घाइते योद्धाहरूका लागि स्वास्थ्य नीति के रहेको छ भनेर सोधे। कर्णाली प्रदेश अस्पतालमा घाइतेहरूलाई निःशुल्क उपचारको व्यवस्था किन नभएको र इन्द्रेणी कार्यक्रममा क्यान्सर पीडित घाइते योद्धाले जीवनको भिख माग्नुपरेको घटनालाई उदाहरण दिँदै शाहीले ती पीडितलाई चिनेका छन् कि छैनन् भन्ने प्रश्न गरे।सहिद परिवारमाथि बेवास्ता ?शाही सरकारमा हुँदा कालिकोटका सहिद परिवारलाई सम्झेको प्रमाण के रहेको छ भनेर प्याकुरेलले सोधे। “तपाईंले आफ्ना छोराछोरी कुन स्कूल र देशमा पढाउनुभएको छ?

सहिद परिवार र घाइते अपाङ्गका छोराछोरीहरूले तपाईंको पहलमा कति उच्च शिक्षा हासिल गरे? तिनलाई रोजगारी कहाँ सिर्जना गर्नुभयो?” उनले प्रश्न गरे। बस्ती उजाडिनु, खेतीयोग्य जमिन बाझो हुनु र खडेरीले ढुङ्गा-माटो डढ्नुको जिम्मेवारी शाहीकै हो भन्दै युवाहरू भारत र बङ्गलोरका गल्लीमा भारी बोकेर काम गर्न बाध्य भएको उल्लेख गरे। “बजेटको खोलो बगाएको भए जनप्रतिनिधिसमेत भारतमा कम्बल बेच्न किन जान्थे?” भनी व्यंग्य गरे । कालिकोट बासीले शाहीलाई तीन पटक भोट दिए पनि पार्टीकै कार्यकर्ताले कालो झण्डा देखाएको स्मरण गर्दै फेरि भोट किन दिने भन्ने प्रश्न उठाए।व्यक्तिगत सम्मान तर पीडाको बुझाइ खोज्दै प्याकुरेलले शाहीलाई जनयुद्धको सफल कमान्डरको रूपमा व्यक्तिगत सलुट गरे पनि घाइते सह-योद्धाको पीडा बुझ्न आह्वान गरे। “के तपाईं जस्तै युद्ध मैदानबाट आएका कमान्डर चुनाव लड्न योग्य छैनन्? तपाईं नै किन?” भन्दै शाहीलाई आफैंलाई प्रश्न गर्न सुझाए। यो चर्को प्रश्नले कर्णाली राजनीतिमा बहस चर्काउने सम्भावना छ।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार