अछामका पूर्वाधार मुद्दा सिंहदरबारसम्म : सडक र पुलबारे उच्चस्तरीय ध्यानाकर्षण
कमल कुमार शाही
स्वाभिमान खबर,पुष १५
काठमाडौँ । अछाम जिल्लाका दीर्घकालीन पूर्वाधार समस्यालाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउँदै जनसरोकार संघर्ष समिति, अछामका संयोजक निरक सीले काठमाडौँमा उच्चस्तरीय भेटघाट सम्पन्न गरेको छन्। राजधानीमा आयोजित भेटमा सडक विभागका महानिर्देशक डा. विजय जैसी, पुल महाशाखा प्रमुख ललितजंग खनाल तथा वेतन कर्णाली हाइड्रोपावर आयोजनाका आयोजना प्रमुख विमल गुरुङसँग अछामका महत्वपूर्ण विकास योजनाबारे गम्भीर छलफल गरिएको हो।

कार्यक्रममा सहभागिहरु
भेटघाटका क्रममा समितिले अछामको भौगोलिक अवस्था, कमजोर पूर्वाधार र त्यसले जनजीवनमा पारेको प्रभावबारे स्पष्ट जानकारी गराउँदै दीर्घकालीन समाधानको माग राखेको छ। विशेष गरी सडक र पुल अभावका कारण विकासका अवसरहरू खुम्चिँदै गएको भन्दै तत्काल ध्यान दिनुपर्ने आयोजना सूची प्रस्तुत गरिएको थियो।
समितिले जंगलघाट पुल, सेती लोकमार्ग, मंगलसेन–सुवाखाड–खेतगैरा–जुउलामारे–ढकारी सडक, चित्रे–पायल–चौरपाटी–नारीदाङ सडक तथा चिसापानी–जंगलघाट–मंगलसेन सडकलाई अछामको जीवनरेखासरह महत्वपूर्ण पूर्वाधारका रूपमा अघि सारेको छ। यी आयोजना समयमै सम्पन्न नहुँदा सुरक्षित यात्रा, सेवा–सुविधाको पहुँच र आर्थिक गतिविधि सबै प्रभावित भएको समितिको निष्कर्ष छ।

निवेदन
सरोकारवाला निकायका प्रतिनिधिहरूले उठाइएका विषयहरू गम्भीर रहेको स्वीकार गर्दै प्राविधिक, नीतिगत र बजेट व्यवस्थापनका पक्षमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। विशेषगरी पुल र सडक आयोजनामा चरणबद्ध रूपमा काम अघि बढाउने तथा स्थानीय आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरिने आश्वासन दिइएको समितिले जनाएको छ।

जनसरोकार संघर्ष समिति, अछामले अछामको विकास केवल जिल्लाको मात्र मुद्दा नभई समग्र सुदूरपश्चिम र कर्णाली क्षेत्रको समृद्धिसँग जोडिएको विषय भएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर दबाब र समन्वय जारी राख्ने स्पष्ट पारेको छ। समितिले सुरक्षित यात्रा, विकासको पहुँच र उज्यालो भविष्यका लागि अछामका सवालमा सबै एकजुट हुन आह्वानसमेत गरेको छ।
अछामका जनचासोका मुद्दा अब काठमाडौँका नीति निर्माण तहसम्म पुग्नु सकारात्मक संकेत भएको स्थानीय सरोकारवालाहरूको प्रतिक्रिया छ।













प्रतिक्रिया दिनुहोस्