२०८३ भाद्र २७ गते शनिवार

“रु १ रुपैयाँ अभियान” अन्तर्गत बाजुराका विद्यार्थीलाई न्यानो लुगा वितरण : आशिका फाउण्डेसन र सामाजिक अभियन्ता तथा गगन वाणी मिडिया हाउसको सहकार्य



“रु १ रुपैयाँ अभियान” अन्तर्गत बाजुराका विद्यार्थीलाई न्यानो लुगा वितरण : आशिका फाउण्डेसन र सामाजिक अभियन्ता तथा गगन वाणी मिडिया हाउसको सहकार्य
कमल कुमार शाही
स्वाभिमान खबर, २० कार्तिक

बाजुरा
“रु १ रुपैयाँ अभियान” अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित भगवती माध्यमिक विद्यालय, सेलापाखाका ३०६ जना विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ। जाडो मौसममा विद्यार्थीहरूलाई स्वास्थ्य र पढाइमा सहजता होस् भन्ने उद्देश्यले आशिका फाउण्डेसनको सहयोगमा र सामाजिक अभियन्ता तथा गगन वाणी मिडिया हाउसको सहकार्यमा यो मानवीय अभियान सञ्चालन गरिएको हो।


विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीय जनप्रतिनिधि र समुदायका अगुवाहरूको उत्साहजनक उपस्थिति थियो। कार्यक्रममा विद्यार्थीहरूलाई न्यानो कपडा, स्लीपिङ ब्याग, टोपी र अन्य तातो सामग्रीहरू वितरण गरिएको थियो।


कार्यक्रमका अवसरमा सामाजिक अभियन्ताले भने, “रु १ रुपैयाँ अभियानको मुख्य सन्देश स–साना योगदानहरूले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने हो। यदि प्रत्येक व्यक्तिले आफ्नो सामर्थ्य अनुसार सहयोग गरे, देशका कुनै पनि बालबालिका न्यानो कपडाको अभावमा कष्ट भोग्नुपर्ने छैन।”

त्यसैगरी, गगन वाणी मिडिया हाउसका प्रतिनिधिले सञ्चारमाध्यम केवल समाचारका लागि नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यम पनि हो भन्ने बताए। उनले भने, “मिडिया र सामाजिक अभियन्ताहरूको सहकार्यले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने काम गर्न सकिन्छ, यो अभियान त्यसकै उदाहरण हो।”
आशिका फाउण्डेसनका प्रतिनिधिले संस्थाले आगामी दिनहरूमा पनि ग्रामीण भेगका विद्यालयमा न्यानो लुगा वितरण, छात्रवृत्ति तथा शिक्षासम्बन्धी सहयोगलाई निरन्तरता दिने जानकारी दिए।
विद्यालयका प्रधानाध्यापकले बालबालिकाका तर्फबाट सहयोगदाताहरूप्रति आभार प्रकट गर्दै भने, “हाम्रो विद्यालयका धेरै विद्यार्थी आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका छन्। यस्ता सहयोगहरूले उनीहरूमा आत्मबल र अध्ययनमा निरन्तरता दिने ऊर्जा जगाउँछ।”
कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, पत्रकार तथा जनप्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा सहभागी सबैले “रु १ रुपैयाँ अभियान”लाई देशभर विस्तार गरी सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार