२०८२ चैत्र १९ गते बिहिवार

लाङटाङ पदयात्रा : निगालोको जंगल हुँदै क्यान्जिन गोम्पासम्मको साहसिक यात्रा- लाेकेश जोशी  



लाङटाङ पदयात्रा : निगालोको जंगल हुँदै क्यान्जिन गोम्पासम्मको साहसिक यात्रा- लाेकेश जोशी

 

रेड पाण्डाको बासस्थान, हिमाली दृश्य र तामाङ संस्कृति समेटिएको रसुवाको पदमार्ग

स्वाभिमान खबर , बैशाख २३
रसुवा — हिमाल, खोल्साखोल्सी र जैविक विविधताको संगमस्थल लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको पदयात्रा मार्ग हालका दिनहरूमा पर्यटकको मन जित्न थालेको छ। रसुवाको स्याफ्रुबेँसीबाट सुरु हुने यो यात्रा भोटेकोसी नदि तरेर लाङटाङ खोलाको किनार–किनार अघि बढ्छ। यात्रामा दुईदेखि तीन दिनको समय लाग्छ र अन्तिम गन्तव्य क्यान्जिन गोम्पा पुगिन्छ, जुन समुद्री सतहदेखि ३,९०० मिटरको उचाइमा अवस्थित छ।

यो पदयात्रा केवल भौगोलिक साहस मात्र होइन, जैविक अन्वेषणको अवसर पनि हो। मार्गभरि फैलिएको हरियाली, छ्याङ्लाङ गरेको पानीको संगीत, र हिमाली हावाको चिसोपनले यात्रुलाई थप उर्जावान बनाउँछ। बाटोमा कहिले बाक्लो निगालोको जंगल, कहिले झरनासँगै झरेको पानीको सङ्गीत, अनि बीच–बीचमा उभिएको बौद्धगुम्बा र रंगीन झण्डाले यात्रा अझै आध्यात्मिक बनाउँछ।

लाङटाङ राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ। यहाँ पाइने दुर्लभ वन्यजन्तुहरू मध्ये रेड पाण्डा (हाब्रे) प्रमुख हो। यात्रा गर्दा अधिकांश स्थानमा प्रशस्त मात्रामा निगालो पाइन्छ, जुन रेड पाण्डाको प्रमुख आहार हो। यही कारणले यहाँ रेड पाण्डाको राम्रो वासस्थान बनेको हो।

स्थानीय बासिन्दा फुर्वा तामाङ भन्छन्, “हाम्रो गाउँमा आउने पाहुनालाई रेड पाण्डा देख्ने चासो धेरै हुन्छ। उनीहरूका लागि निगालोको जंगल नै आकर्षण बनेको छ।” उनले थपे, “क्यान्जिन पुग्दा मनै रमाउँछ, हिउँले ढाकिएको हिमाल देखेर थकान बिर्सिन्छ।”

पदयात्रा मार्गमा बसोबास गर्ने समुदायले होमस्टे सञ्चालन गरेर पर्यटकलाई सेवा दिइरहेका छन्। तामाङ संस्कृतिको स्वाद र आतिथ्य सत्कारले यो यात्रा अझै अविस्मरणीय बनाउँछ। क्यान्जिन गोम्पा पुगिसकेपछि, यात्रुहरू लाङटाङ लिरुङ हिमालको दृश्य अवलोकन गर्छन्, जुन वरिपरिका हिमशृंखलाभन्दा सबैभन्दा अग्लो छ।

यस पदमार्गलाई सुरक्षित, व्यवस्थित र पर्यावरणमैत्री बनाउनेतर्फ ध्यान दिइएको खण्डमा लाङटाङ क्षेत्र अझै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ। सरकारले पदमार्ग सुधार, संकेत बोर्ड स्थापना र अप्ठ्यारो खण्डमा पुल निर्माण गरेमा पर्यटकको संख्यामा थप वृद्धि हुन सक्ने स्थानीयहरूको अपेक्षा छ।

मनौरम दृश्यहरु

 

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार