२०८२ चैत्र १९ गते बिहिवार

तामझामबीच बालेनको शपथ, अब सुशासन र रोजगारी सिर्जनाको कठोर परीक्षा -अनिपाल शाही



काठमाडौं —
नयाँ राजनीतिक समीकरणसँगै दुईतिहाइ बहुमतको समर्थनमा प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन शाह) आज विशेष तामझामका बीच पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथ समारोहमा परम्परागत धार्मिक अनुष्ठान, सांस्कृतिक प्रस्तुति र उच्चस्तरीय सुरक्षा व्यवस्थापन देखिएको थियो,
जसले कतिपयका लागि “राज्याभिषेक” झल्काउने दृश्य प्रस्तुत भयाे वा श्रीपेच भेटाए झै बालेनकाे राज्यभिषेक पनि भनेर आलाेचना पनि भएकाे देखियाे ।
बालेन नेतृत्वको नयाँ सरकार गठनसँगै जनतामा विगतका सरकारहरूमाथि भ्रष्टाचार, ढिलासुस्ती र सत्ताको दुरुपयोगका आरोप लागिरहँदा सर्वसाधारणले सहज सेवा, पारदर्शिता र उत्तरदायित्वको माग गर्दै आएका थिए। यही पृष्ठभूमिमा सुशासन, सादगी र परिणाममुखी नेतृत्वको प्रतिबद्धतासहित बालेन नेतृत्वप्रति जनमत आकर्षित भएको विश्लेषण गरिएको छ।

तर, शपथ समारोहमै देखिएको तामझामले भने सरकारको प्रारम्भिक सन्देशबारे प्रश्न उठाएको छ। जनताले अपेक्षा गरेको सरल जीवनशैली र व्यवहारमा देखिएको भव्यता बीच कत्तिको सामञ्जस्य रहने हो भन्ने चासो बढेको छ। अबको १०० दिन सरकारका लागि “टेस्ट केस” का रूपमा हेरिएको छ।

सरकारसमक्ष सुशासनसँगै सबैभन्दा ठूलो चुनौती रोजगारी सिर्जना रहेको छ। पछिल्लो समय अवसरको अभाव, न्यून आय र अस्थिर आर्थिक अवस्थाका कारण दैनिक हजारौं युवा वैदेशिक रोजगारीतर्फ जान बाध्य भइरहेका छन्।

विज्ञहरूका अनुसार सुशासन बिना लगानीमैत्री वातावरण सम्भव हुँदैन। पारदर्शिता, प्रभावकारी सेवा प्रवाह र नीतिगत स्थिरता कायम गर्न सकेमा मात्र स्वदेशमा उद्योग–व्यवसाय विस्तार भई रोजगारी सिर्जना हुने विश्वास लिइएको छ।

कृषि, पर्यटन, साना तथा मझौला उद्योग र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग उठिरहेको छ। त्यसैगरी, सीपमूलक तालिम, स्टार्टअप प्रवर्द्धन र सहुलियतपूर्ण ऋणमार्फत युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनु पर्ने आवस्यकता देखिन्छ ।

लामो समयदेखि राजनीतिक अस्थिरता भोग्दै आएको देशका लागि पाँच वर्षे स्थिर सरकार सकारात्मक अवसरका रूपमा हेरिएको छ। तर, विश्लेषकहरूका अनुसार सरकारको सफलता नेतृत्वको कार्यशैली, निर्णय क्षमता र कार्यान्वयनमा निर्भर रहनेछ।

यदि सरकारले राष्ट्रियता सुदृढ गर्दै सुशासन कायम गर्न र युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सफल भयो भने मात्र जनताको अपेक्षा पूरा हुने देखिन्छ। अन्यथा, पुरानै प्रवृत्ति दोहोरिने जोखिम कायमै रहनेछ।

शपथको भव्यता भन्दा अब परिणामले सरकारको मूल्यांकन हुनेछ। सुशासन, पारदर्शिता र रोजगारी सिर्जनामा ठोस उपलब्धि देखाउन सकेमा “नेपालमै सम्भावना छ” भन्ने विश्वास स्थापित हुन सक्छ। अहिलेका लागि भने नागरिकहरू आशा र उत्सुकतासहित सरकारको आगामी कदम हेर्ने प्रतीक्षामा छन्।
प्रधानमन्त्री सहित नवनियुक्त मन्त्रीहरुलाइ हार्दिक बधाई अनि कार्यकाल सफलता को शुभकामना छ ।

 

प्रकाशित मिति : २०८२ चैत्र १४ गते शनिवार