के माओवादी आन्दोलन फेरि चिहानबाट माथी उठेर त्यो वैकल्पिक शक्ति बन्न सक्छ?- हरि प्याकुरेल( हरी सी)
स्वाभिमान खबर,माघ १५
मार्क्सवादको आधारभूत मान्यता अनुसार इतिहास वर्गसंघर्षको इतिहास हो। नेपालमा माओवादी आन्दोलन यही ऐतिहासिक भौतिकवादको ठोस अभिव्यक्ति थियो। सामन्ती–अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्य संरचनाको विरुद्ध उठेको यो आन्दोलन उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको वर्गीय विद्रोह थियो। माओवादी आन्दोलनले राज्यलाई “तटस्थ संरचना” होइन, शासक वर्गको दमनकारी उपकरणको रूपमा चिनायो र त्यसलाई रूपान्तरण गर्न सशस्त्र जनयुद्धको बाटो अवलम्बन गर्यो।
यस आन्दोलनको ऐतिहासिक उपलब्धि भनेकै सामन्ती राज्य ब्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हो। यो उपलब्धि कुनै दान थिएन, यो वर्गसंघर्षको परिणाम थियो। तर मार्क्सले भन्नुभएको छ—राज्यसत्ता कब्जा वा परिवर्तन मात्र पर्याप्त हुँदैन, यदि उत्पादन सम्बन्ध र वर्गीय शक्ति सन्तुलन र रूपान्तरण भएन भने पुरानो शासक वर्ग नयाँ रूपमै पुनःस्थापित हुन्छ।
गणतन्त्रपछिको नेपाली राज्य यही यथार्थको प्रमाण बन्यो। सामन्ती–दलाल पुँजीवादी वर्ग नयाँ संविधान, नयाँ संस्थान र नयाँ भाषामा पुनःसंगठित भयो। माओवादी आन्दोलन राज्यसत्ताको वैचारिक संघर्षभन्दा संसदीय सत्ता–व्यवस्थापनमा बढी अल्झिँदै गयो। यस प्रक्रियामा वर्गीय दृष्टिको क्षय, अवसरवादको उदय र क्रान्तिकारी अनुशासनको पतन देखियो।
लेनिनले भनेका थिए—“अवसरवाद साम्राज्यवादको उपज हो।” आज नेपालमा देखिएको अवसरवादी राजनीति पनि यही अन्तर्राष्ट्रिय पुँजीवादी संरचनाको प्रभाव हो। साम्राज्यवादी शक्ति केन्द्रहरू—आर्थिक सहायता, गैरसरकारी संस्था, कूटनीति र राजनीतिक मध्यस्थतामार्फत—नेपाललाई आफ्नो प्रभावक्षेत्रमा राख्न सक्रिय छन्। यही संरचनाभित्र बसेर समाजवादको कुरा गर्नु आत्मविरोधी अभ्यास बन्न पुग्यो।
यसै कारण समाजमा दण्डहीनता, हत्या , हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरू बढेका छन्। राज्य वर्गीय रूपमा प्रतिक्रियावादी हुँदा न्याय र सुरक्षा पनि वर्गीय हुन्छ। उत्पीडित वर्गका लागि राज्य झनै निर्दयी बन्न पुग्छ। वर्तमान समयमा राज्य संयन्त्र भागबन्डामा बाँडिनु भनेको वर्गीय सत्ताको नग्न अभ्यास हो, जहाँ नीति होइन, स्वार्थ निर्णायक हुन्छ।
यही अवस्थाले जनतामा चरम निराशा र जनआक्रोश जन्मिएको छ। निराशा आफैंमा अन्त्य होइन, त्यो नयाँ विद्रोहको गर्भ हो। प्रश्न विकल्पको हो। आज नेपाली समाज फेरि वैकल्पिक शक्तिको खोजीमा छ। यो खोज आकस्मिक होइन, यो विद्यमान दलाल–पुँजीवादी गणतन्त्रको ऐतिहासिक असफलताको परिणाम हो।
के माओवादी आन्दोलन फेरि चिहानबाट माथी उठेर त्यो वैकल्पिक शक्ति बन्न सक्छ? सैद्धान्तिक रूपमा सम्भव छ, तर व्यवहारिक रूपमा सजिलो छैन। त्यसका लागि माओवादी घटकहरूले तीन निर्णायक कार्य गर्नैपर्छ।
पहिलो, वैचारिक पुनर्संश्लेषण। माओवादी आन्दोलनले नेपाली समाजको वर्ग संरचना, उत्पादन सम्बन्ध र राष्ट्रिय प्रश्नलाई पुनः विश्लेषण गर्नुपर्छ। जडसूत्र होइन, नेपाली विशेषताको समाजवादको ठोस कार्यक्रम विकास गर्नुपर्छ।
दोस्रो, अवसरवादसँग निर्णायक सम्बन्ध विच्छेद। संसदीय सुविधाभोगी मानसिकता, सत्ताकेन्द्रित राजनीति र वर्गीय तटस्थताको भ्रम त्याग्नैपर्छ। लेनिनवादी सिद्धान्तमा क्रान्तिकारी पार्टी पुनर्निर्माण अपरिहार्य छ।
तेस्रो, त्याग र बलिदानको पुनःस्थापना। माओवादी आन्दोलनको नैतिक बल त्यागमा थियो। यदि आन्दोलन फेरि जनताको भरोसा जित्न चाहन्छ भने, नेतृत्व स्वयं जोखिम, दमन र बलिदानका लागि तयार हुनुपर्छ। क्रान्ति आरामको परियोजना होइन।
नेपाली विशेषताको समाजवाद आज कुनै टाढाको सपना होइन। पुँजीवादको संरचनात्मक संकट, राज्यको वैधतामाथिको प्रश्न र जनताको असन्तोषले समाजवादलाई ऐतिहासिक रूपमा नजिक ल्याएको छ। तर यदि माओवादी आन्दोलन अवसरवादीहरूको अखाडा बनिरह्यो भने, त्यो ऐतिहासिक अवसर गुम्नेछ र आन्दोलन स्वयं प्रतिक्रियावादी इतिहासको एक अध्यायमा सीमित हुनेछ।
इतिहासले बारम्बार प्रमाणित गरेको छ—क्रान्ति अधुरो छाडियो भने, प्रतिक्रियावादीले बदला लिन्छ। त्यसैले प्रश्न केवल माओवादी आन्दोलन बाँच्ने–नबाँच्नेको होइन, प्रश्न नेपाली जनताको मुक्तिको दिशाको हो। यही सैद्धान्तिक चुनौती आज माओवादी आन्दोलनको सामु उभिएको छ।
लेखक – अखिल ( समाजवादी)का सचिवालय सदस्य बाँके र बर्दिया जिल्ला इन्चार्ज हुन ।













प्रतिक्रिया दिनुहोस्