२०८३ जेष्ठ १४ गते बिहिवार

वरिष्ठता लत्याइयो, न्यायिक प्रणालीमै असर पर्छ’ प्रधानन्यायाधीश सिफारिसमा सुशीला कार्की असन्तुष्ट



वरिष्ठता लत्याइयो, न्यायिक प्रणालीमै असर पर्छ’ प्रधानन्यायाधीश सिफारिसमा सुशीला कार्की असन्तुष्ट
कमल कुमार शाही
स्वाभिमान खबर ,२४ वैशाख २०८३
काठमाडौं
प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको पछिल्लो सिफारिसप्रति पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले तीव्र असन्तुष्टि जनाएकी छन्। संवैधानिक परिषद्ले वरिष्ठता क्रमलाई बेवास्ता गर्दै चौथो वरीयताका डा. मनोज शर्मा लाई अघि बढाएको विषयमा उनले गम्भीर आपत्ति जनाएकी हुन्।

उनका अनुसार न्यायपालिकामा स्थापित परम्परा र अभ्यासअनुसार वरिष्ठतम् न्यायाधीशलाई प्राथमिकता दिनु पर्ने भए पनि यसपटक त्यसको उल्टो निर्णय गरिएको छ। कार्कीले वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल लाई बेवास्ता गर्नु केवल व्यक्तिको मात्र होइन, प्रणालीकै अवमूल्यन भएको टिप्पणी गरिन्।

“न्यायाधीशहरू अनुभव र योग्यताका आधारमा क्रमशः अगाडि बढ्ने प्रणाली हुन्छ,” कार्कीले भनिन्, “त्यसलाई तोड्दा संस्थागत स्थायित्वमै प्रश्न उठ्छ।”

उनले सपना प्रधान मल्लको क्षमतामाथि कुनै शंका नरहेको उल्लेख गर्दै महिलाको नेतृत्व स्थापित गर्ने अवसर पनि गुमाइएको बताइन्। “उहाँ जस्तो अनुभवी र कानुन निर्माणमा योगदान दिएकी व्यक्तिलाई रोक्नु न्यायिक क्षेत्रका लागि सकारात्मक सन्देश होइन,” उनको भनाइ थियो।

कार्कीका अनुसार न्यायपालिकाजस्तो संवेदनशील निकायमा हुने नियुक्ति प्रक्रियाले सम्पूर्ण राज्य व्यवस्थामै प्रभाव पार्ने भएकाले यस्ता निर्णय अत्यन्त सोचविचारपूर्वक हुनुपर्ने हुन्छ। उनले योग्यता, अनुभव र योगदानलाई बेवास्ता गर्दा दीर्घकालीन असर पर्ने चेतावनी दिइन्।

“आज गरिएको निर्णयको असर भोलि देखिन्छ,” उनले भनिन्, “यसले सरकारकै विश्वासनीयतामाथि प्रश्न खडा गर्न सक्छ।”
उनले न्यायिक प्रणालीको गरिमा जोगाउन परम्परा, विधि र निष्पक्षताको मर्मलाई सम्मान गर्न सरकारलाई आग्रह गरेकी छन्।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार