२०८३ बैशाख ३ गते बिहिवार

नेस्नल भोलेन्टियर फोर्स कर्णाली प्रदेश कमान्डरमा टेकराज आचार्य चयन, ३१ सदस्यीय समिति गठन 



नेस्नल भोलेन्टियर फोर्स कर्णाली प्रदेश कमान्डरमा टेकराज आचार्य चयन, ३१ सदस्यीय समिति गठन 
गोविन्द रावत
स्वाभिमान खबर, फागुन २
सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न नेस्नल भोलेन्टियर फोर्स कर्णाली प्रदेश भेलाले टेकराज आचार्यलाई प्रदेश कमान्डर चयन गर्दै ३१ सदस्यीय प्रदेश समिति गठन गरेको छ।


भेलाको अध्यक्षता कर्णाली प्रदेश इन्चार्ज सञ्जीब धितालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा केन्द्रीय अध्यक्ष पुष्प श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय युवा संघ कर्णाली प्रदेश अध्यक्ष जीवन शाही, जिल्ला अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य बासु आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्ला जिल्ला कमिटी सदस्य पदम सुवर्णकार, केन्द्रीय सदस्य आशिष रेग्मी लगायत सयौं नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।


भेलाले आचार्यको नेतृत्वमा ३१ सदस्यीय प्रदेश समिति गठन गर्दै संगठनलाई कर्णालीका सबै जिल्लामा विस्तार गर्ने निर्णय गरेको जनाएको छ। नवगठित समितिमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले संगठनलाई अनुशासित, सक्रिय र जनमुखी बनाउँदै राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिनुपर्ने धारणा राखे। उनले स्वयंसेवी शक्तिलाई पार्टीको संरक्षण र समाज सेवामा समर्पित बनाउनुपर्नेमा जोड दिए।
नवनियुक्त प्रदेश कमान्डर आचार्यले आफूलाई प्रदान गरिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) र त्यसका नेताहरूमाथि हुने जुनसुकै प्रकारका प्रहारको सामना संगठनले सतिशाल झैँ उभिएर गर्ने उद्घोष गरे। साथै, उनले कर्णाली प्रदेशमा संगठनलाई बलियो र प्रभावकारी बनाउँदै युवाहरूलाई संगठित गर्ने अभियानलाई तीव्रता दिने बताए।


भेलाले आगामी दिनमा प्रदेशभर प्रशिक्षण, संगठन विस्तार र जनसम्पर्क अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। कर्णालीमा स्वयंसेवी अभियानलाई संस्थागत रूप दिने विश्वासका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते आइतवार