२०८३ जेष्ठ १४ गते बिहिवार

समाज परिवर्तनको पक्षमा उभिने सफल व्यवसायी साउदको निर्माण व्यवसायी संघको अध्यक्षमा दाबी



समाज परिवर्तनको पक्षमा उभिने सफल व्यवसायी साउदको निर्माण व्यवसायी संघको अध्यक्षमा दाबी
कमल कुमार शाही
स्वाभिमान खबर, बैशाख १६
धनगढी, कैलाली — कैलाली निर्माण व्यवसायी संघको यही वैशाख २४ र २५ गते हुने अधिवेशनका लागि अध्यक्ष पदमा धिरेन्द्र साउदले उम्मेदवारी घोषणा गरेका छन्। सफल व्यवसायीका रूपमा स्थापित साउदले आफूलाई समाज परिवर्तनको पक्षमा उभिने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

मेडिकल व्यवसायसँगै निर्माण क्षेत्रमा सक्रिय साउदले संघको नेतृत्वमा पुगेर व्यवसायीका हक–हित संरक्षण, पारदर्शी कार्यशैली र संस्थागत सुधारमा जोड दिने बताएका छन्। उनले संघलाई थप प्रभावकारी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
धनगढीका ऊर्जाशील युवा व्यवसायी साउदलाई संघभित्रका विभिन्न सदस्य तथा शुभेच्छुकहरूको समर्थन बढ्दो देखिएको छ। उनका समर्थकहरूले सम्पूर्ण साधारण सदस्य तथा अग्रज निर्माण व्यवसायीलाई एकताबद्ध भई परिवर्तनको पक्षमा उभिन अपिल गरेका छन्।

जुझारु, मिलनसार र सरल स्वभावका रूपमा परिचित साउदले नेतृत्वमा आए संघभित्र सहकार्य, समन्वय र व्यवसायीमैत्री वातावरण सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
आगामी अधिवेशनमार्फत चयन हुने नयाँ नेतृत्वलाई लिएर व्यवसायीहरूमा उत्सुकता बढिरहेको छ। साउदको उम्मेदवारीले संघको चुनावी माहोल थप सक्रिय र प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १६ गते बुधवार