पूर्व युवराज हृदयेन्द्र वीर विक्रम शाह अध्ययन विदामा नेपालमा, राजनीतिक वृत्तमा धेरैको चासो
कमल कुमनर शाही
स्वाभिमान खबर ,जेठ ३
काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहका नाति तथा पूर्व युवराज हृदयेन्द्र वीर विक्रम शाह शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेका छन्। उनी हाल अमेरिकाको बोस्टनस्थित टफ्ट्स युनिभर्सिटीमा अध्ययनरत छन् र केही हप्ताको अध्ययन बिदाका लागि स्वदेश फर्किएका हुन्।

विमानस्थलमा सुरक्षाकर्मीको साथमा देखिएका हृदयेन्द्रलाई लिएर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चासो बढेको देखिन्छ। उनको उपस्थितिलाई सामान्य पारिवारिक भ्रमणका रूपमा लिइए पनि पछिल्लो राजनीतिक सन्दर्भमा यसलाई विभिन्न कोणबाट हेरिएको छ।
राजसंस्था पुनःस्थापनाको बहससँग जोडिँदै हृदयेन्द्रको उपस्थिति

२०६५ सालमा गणतन्त्र स्थापना भएसँगै राजसंस्था औपचारिक रूपमा अन्त्य गरिएको थियो। तर, त्यसयता विभिन्न समयमा राजसंस्था पुनःस्थापनाको बहस समय–समयमा उठ्ने गरेको छ। खासगरी, सामाजिक सञ्जालमा सक्रिय रहेका युवाहरूको एक वर्गले राजसंस्थाको विकल्पमा अबको पुस्ताका प्रतिनिधि हृदयेन्द्रप्रति चासो देखाउँदै आएका छन्।
राजसंस्थालाई समर्थन गर्ने राप्रपाजस्ता पार्टीहरूको नजरमा समेत हृदयेन्द्रप्रति सकारात्मक दृष्टिकोण रहेको देखिन्छ। एक पूर्वमन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा स्वाभिमान खबरसँग भने, “राजसंस्था जनताको रोजाइमा पुनः आउन सक्छ। त्यस अवस्थामा नयाँ पुस्ताको प्रतिनिधि हृदयेन्द्र हुनु स्वाभाविक हुन्छ।”
व्यक्तिगत रुचि र जीवनशैली

हृदयेन्द्रलाई सार्वजनिक रूपमा निकै कम देखिने भए पनि कहिलेकाहीं सामाजिक मिडियामा उनका केही तस्बिर भाइरल हुने गरेका छन्। उनले कुनै औपचारिक राजनीतिक अभिव्यक्ति दिएका छैनन्, न त सामाजिक विषयमा सक्रिय भूमिका नै निभाएका छन्। तर, उनी शालीन र अनुशासित युवाको छवि बनाउन सफल देखिन्छन्।
उनले अध्ययन गरिरहेको टफ्ट्स युनिभर्सिटी अमेरिका कै प्रतिष्ठित विश्वविद्यालयमध्ये पर्छ, जहाँ अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीति विज्ञानमा धेरै नेपाली विद्यार्थी अध्ययन गर्दै आएका छन्।
केही हप्ता अघि अभिनेत्री सुरक्षा पन्तले एक अन्तर्वार्तामा हृदयेन्द्रको बारेमा बोलेकी थिइन्। उनले भनेकी थिइन्, “हृदयेन्द्र राम्रो व्यक्तित्वका धनी छन्। अहिलेको पुस्ताका युवराज हो भने त्यस्तै हुनु पर्छ।” उनको यो भनाइपछि टिकाटिप्पणी, समर्थन र व्यंग्यसमेत देखिएको थियो।
सामाजिक सञ्जालमा कतिपयले यसलाई ‘व्यक्तिगत प्रशंसा’ का रूपमा लिए भने कतिपयले राजसंस्थाको छवि निर्माण गर्ने प्रयत्नका रूपमा समेत विश्लेषण गरेका थिए।
पूर्व युवराज हृदयेन्द्रको यो अध्ययन बिदामा भएको आगमनलाई लिएर विश्लेषकहरू सतर्क बनेका छन्। यद्यपि, उनले हालसम्म कुनै औपचारिक राजनीतिक भूमिका लिएका छैनन्। तर, बदलिँदो राजनीतिक सन्दर्भ र राजसंस्थाप्रति अझै आशावादी समूहको नजरमा हृदयेन्द्र सम्भावित नेतृत्वको विकल्पका रूपमा चित्रित हुँदै गएका छन्।
अबको केही दिनमा उनले कुन गतिविधिमा सहभागी हुनेछन्, सार्वजनिक रुपमा देखा पर्छन् वा पर्दैनन् भन्ने कुराले थप संकेत दिनेछ।













प्रतिक्रिया दिनुहोस्