बडीमालिकाको ‘धर्तीको स्वर्ग’ नगरगीत सार्वजनिक, पर्यटन प्रवर्द्धनमा जोड
कमल कुमार शाही
स्वाभिमान खबर, कार्तिक २८ बाजुरा ।
बडीमालिका नगरपालिकाले नगरको प्राकृतिक सुन्दरता, धार्मिक आस्था एवम सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्ने उद्देश्यसहित ‘धर्तीको स्वर्ग’ नामक नगरगीत सार्वजनिक गरेको छ। शुक्रबार नगर सभाहलमा आयोजित विशेष समारोह मार्फत् लोकार्पण गरिएको उक्त गीतलाई पर्यटन प्रवर्द्धन तर्फको अतिरिक्त कदमका रूपमा लिइएको छ।
समारोहमा गीतका रचनाकार तथा प्रमुख प्रशासकीय अधिकृत **पवन मधु श्री (पदम बहादुर माझी)**ले गीत बडीमालिकाको सम्पूर्ण परिवेश, सम्भावना र पहिचानलाई कलात्मक रूपमा समेटिएको बताए। उनका अनुसार नगरको विकास–समृद्धि र पर्यटनमार्फत स्थानीय अर्थतन्त्र उकास्ने लक्ष्यका साथ गीत तयार गरिएको हो।
नगर प्रमुख अमर बहादुर खड्काले गीतले बडीमालिकालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विस्तारपूर्वक चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले स्थानीय संस्कृति, भेषभूषा र धार्मिक स्थलको प्रचार–प्रसारमा गीत महत्त्वपूर्ण माध्यम बन्ने बताए।
‘धर्तीको स्वर्ग’ नगरगीतमा राजेन्द्र बाजुराली, पवन मधुश्री र पम्फा कँडेलको स्वर रहेको छ। गीतको शब्द–सङ्गीत पवन मधुश्रीकै रहेको छ भने रेकर्डिङ सागर बाजुराली, एरेन्ज विनोद बाजुराली, छायांकन अमृत उपाध्याय, र निर्देशन दिनेश ठकुल्लाले गरेका हुन्।
गीतमा सन्देश रिमाल, झरना विश्वकर्मा, देविका कार्की, सर्मिला ऐडीलगायत कलाकारले अभिनय गरेका छन्।
स्थानीय भेषभूषा, सांस्कृतिक विविधता, धार्मिक स्थल, कृषि उत्पादनदेखि बडीमालिकाको प्राकृतिक दृश्यावलीलाई गीतमा समेटिएको छ, जसले नगरको पर्यटन सम्भावनालाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
यसअघि सार्वजनिक भएको मधु श्री को ‘रारा तालैमा’ गितको बारेमा नेपालका राष्ट्रिय मिडियाहरुले चर्चा गरेका थिए भने यो गितले उनलाई राष्ट्रियस्तरमा पहिचान बनाएको थियो । पवन मधुश्रीको यो नगरगीतले पनि बडीमालिकालाई सांस्कृतिक तथा पर्यटकीय नक्सामा मजबुत रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्