अछामका अलपत्र विकास योजनाप्रति जनसरोकार संघर्ष समितिको कडा खबरदारी
भौतिक पूर्वाधार मन्त्रालयमा औपचारिक ध्यानाकर्षण, समयमै काम नसकिए आन्दोलनको चेतावनी
कमल कुमार शाही
स्वाभिमान खबर,पुष २१
अछाम । अछाम जिल्लामा वर्षौंदेखि अलपत्र परेका तथा ढिलासुस्तीका कारण जनजीवनमै प्रत्यक्ष असर पारिरहेका विकास निर्माण आयोजनाप्रति जनसरोकार संघर्ष समिति, अछामका संयोजक निरक सीले कडा असन्तुष्टि जनाएको छन्। समितिले सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव विष्णु भण्डारीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराउँदै जिल्लाका विकास योजनालाई शीघ्र, गुणस्तरीय र उत्तरदायी ढंगले सम्पन्न गर्न माग गरेको छ।
मन्त्रालयमा भएको भेटघाट तथा ध्यानाकर्षण कार्यक्रममा अछाम जिल्लाका सडक, पुल, खानेपानी, भवन तथा अन्य भौतिक पूर्वाधार योजनाहरू सम्झौताअनुसार समयमा सम्पन्न नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको विषय गम्भीर रूपमा उठाइएको थियो। समिति अनुसार निर्माण व्यवसायीको लापरवाही, कमजोर अनुगमन तथा सम्बन्धित निकायको उदासीनताका कारण धेरै योजना वर्षौंदेखि अधुरै छन्।
जनसरोकार संघर्ष समितिले विशेषगरी जयगढ–माझखाना–रामारोशन सडक, चिसापानी–जंगलघाट–बढीमालिका सडक खण्ड लगायतका योजनामा देखिएको ढिलासुस्ती र गुणस्तरहीन कार्यप्रति तत्काल कडा अनुगमन र आवश्यक कारबाही गर्न माग गरेको छ। साथै, प्रदेश सरकारबाट सञ्चालित योजनाहरूमा पारदर्शिता, समयपालना र गुणस्तर सुनिश्चित नगर्ने निर्माण व्यवसायीमाथि कानुनी प्रक्रिया अघि बढाउन पनि जोड दिइएको छ।

समितिले विकास योजनामा हुने अनियमितता, ढिलाइ र जिम्मेवारीहीन प्रवृत्तिले अछामको समग्र विकास अवरुद्ध भइरहेको भन्दै अब यस्ता विषयलाई चुपचाप सहन नसकिने स्पष्ट सन्देश दिएको छ। “विकास जनताको आवश्यकता हो, लापरवाही सह्य हुँदैन,” समितिको धारणा छ।
भेटघाटमा मन्त्रालयका सचिव भण्डारीले उठाइएका विषयहरू गम्भीरतापूर्वक लिने र आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए पनि समितिले कार्यान्वयन नदेखिए पुनः दबाबमूलक कार्यक्रम अघि बढाइने चेतावनी दिएको छ।
अछाम जिल्लाको समुचित विकास, सुशासन र जनताको जीवनस्तर सुधारका लागि निरन्तर खबरदारी र संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै समितिले सम्बन्धित सबै निकायलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
अछामको विकास हाम्रो साझा सरोकार!













प्रतिक्रिया दिनुहोस्