२०८३ जेष्ठ १४ गते बिहिवार

लिटिल बुद्ध’ बमजनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ, कारागारबाट रिहा



लिटिल बुद्ध’ बमजनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ, कारागारबाट रिहा

कमल कुमार शाही
स्वाभिमान खबर, बैशाख २० सर्लाही
‘लिटिल बुद्ध’का रूपमा चिनिएका रामबहादुर बमजन ले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतबाट सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाही का न्यायाधीश महेन्द्रराज काफ्ले को इजलासले बमजनविरुद्ध दायर गरिएको मुद्दामा अभियोग पुष्टि हुन नसक्ने ठहर गर्दै उनलाई सफाइ दिएको हो।

बमजनविरुद्ध करिब ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको थियो। तर अदालतले आरोप पुष्टि गर्न पर्याप्त प्रमाण नदेखिएको निष्कर्ष निकाल्दै उनलाई निर्दोष ठहर गरेको हो। यससँगै उनी कारागारबाट रिहा भएका छन्।

यसअघि सोही मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो। अनुसन्धानका क्रममा चितवनस्थित उनको करिब ६४ लाख रुपैयाँ बराबरको जग्गा तथा अन्य रकमलाई आधार बनाएर मुद्दा अघि बढाइएको थियो।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ले लामो अनुसन्धानपछि २०८० पुस २४ गते बमजनलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा उनीसँग विभिन्न १७ देशका मुद्रासहित करिब ३० लाख ९२ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा र ३ करोड ३४ लाख रुपैयाँ नेपाली नगद बरामद गरिएको थियो।

यद्यपि सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाए पनि बमजनविरुद्धको अर्को गम्भीर मुद्दा भने अझै विचाराधीन छ। बाल यौन दुरुपयोगसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालत मा विचाराधीन रहेको छ।
यसअघि उच्च अदालत जनकपुर ले उनलाई उक्त मुद्दामा सफाइ दिएको थियो। तर त्यसविरुद्ध महान्यायाधिवक्ता कार्यालय ले पुनरावेदन गरेपछि अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएसँगै बमजन पुनः सार्वजनिक चर्चामा आएका छन्।

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार