एनपिएलमा सुदूरपश्चिम रोयल्सको शान–दार दोस्रो जित, पोखरा एभेन्जर्स १८ रनले पराजित
कमल कुमार शाही
स्वाभिमान खबर,मंसिर काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट लय कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा मजबुत बनायो ।
जोश ब्राउन–विनोद भण्डारीको शतकीय साझेदारीले बनायो आधार
टस जितेर फिल्डिङ रोजेको पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले प्रारम्भदेखि नै आक्रामक शैली अपनायो । ओपनर जोश ब्राउन र विनोद भण्डारीले पहिलो १० ओभरमै बिना विकेट ९९ रनको शतकीय साझेदारी गर्दै रोयल्सलाई मजबुत सुरुआत दिलाए।
११औँ ओभरमा जिमी निसमले ब्राउनलाई आउट गर्नुअघि उनले ३५ बलमा ६८ रन (६ चौका, ५ छक्का) प्रहार गरे । भण्डारीले शान्त तर स्थिर पारी खेलेर ४३ रन (६ चौका) जोडे।
मध्यक्रममा क्रिस लिनले १३ बलमै ३१ रन तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १० बलमा १३ रन थपेपछि रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९३ रनको बलियो योगफल खडा गर्यो ।
पोखरालाई कमजोर सुरुआतको चट्को
लक्ष्य पछ्याउन पुगेको पोखराको सुरुआत निकै कमजोर रह्यो । पहिलो ओभरमै एडम रोसिङटन रनआउट हुँदै पवेलियन फर्के। उनका जोडीदार दिनेेश खरेल ६ रनमै आउट भए भने किरण ठगुन्ना पनि ९ रनमै समेटिए।
यद्यपि कप्तान कुशल भुर्तेल र जिमी निसमबीच चौथो विकेटका लागि ७५ रनको साझेदारी बनेपछि खेल केहीसमय रोमाञ्चक बन्यो।
भुर्तेलले ३२ बलमा ५३ रन (४ चौका, १ छक्का) बनाए भने निसमले २५ बलमा ४७ रन (२ चौका, ५ छक्का) प्रहार गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर दुवै आउट भएपछि पोखराको रन गति फेरि सुस्त हुँदै गयो।
अन्त्यतिर ड्यान डाउथवेटले १६ बलमा ३७ रन (१ चौका, ५ छक्का) बनाए पनि लक्ष्य नजिक पुग्न सकेनन्। निर्धारित २० ओभरमा पोखराले ८ विकेटमा १७५ रन मात्र जोड्दै १८ रनले पराजित भयो।
सुदूरपश्चिमका बलर चम्किए
रोयल्सका हरमित सिंह सबैभन्दा प्रभावशाली रहँदै ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। स्कट कुग्लेन, दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले १–१ विकेट हात पारे।
अपराजित रोयल्स, लगातार दोस्रो हारमा पोखरा
यो जितसँगै सुदूरपश्चिमले लिगको पहिलो खेलमा काठमान्डु गोर्खाजमाथिको जितपछि दोस्रो विजय समेत दर्ता गर्यो।
उता पोखरा एभेन्जर्स भने लगातार दोस्रो हार बेहोर्न बाध्य भयो। पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको पोखराले आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन निकाल्न सकेन।














प्रतिक्रिया दिनुहोस्