२०८२ माघ १७ गते शुक्रवार

मध्यपश्चिम विश्वविद्यालयमा ‘एमयू कप २०८२’ सुरु, सात संकायबीच खेलकुद प्रतिस्पर्धा



मध्यपश्चिम विश्वविद्यालयमा ‘एमयू कप २०८२’ सुरु, सात संकायबीच खेलकुद प्रतिस्पर्धा
कमल कुमार शाही
स्वाभिमान खबर, माघ ९
सुर्खेत । स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने मूल भावलाई आत्मसात गर्दै मध्यपश्चिम विश्वविद्यालयले आयोजना गरेको अन्तर–विभागीय खेलकुद प्रतियोगिता ‘एमयू कप २०८२’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। प्रतियोगितामा विश्वविद्यालय अन्तर्गतका सातवटा संकाय अन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी टोलीहरूको सहभागिता रहनेछ।

प्रतियोगिताको उद्घाटन २०८२ साल माघ ९ गते विश्वविद्यालयको ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत केन्द्रीय विभाग परिसर, वीरेन्द्रनगर–सुर्खेतमा आयोजना गरिएको विशेष समारोहबीच गरिएको हो।

समारोहमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले भलिबल खेलको बल रेफ्रीलाई हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति गौतमले खेल मानव जिवनको अभिन्न अंग भएको यसले विद्यार्थीको शारीरिक सुदृढता, मानसिक विकास र नेतृत्व क्षमतामा महत्वपूर्ण योगदान दिने बताउनुभयो। उहाँले शैक्षिक उत्कृष्टतासँगै खेलकुदलाई पनि विश्वविद्यालयको अभिन्न अङ्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले खेलकुदले विद्यार्थीहरूलाई अनुशासन, सहकार्य र सकारात्मक प्रतिस्पर्धाको संस्कार सिकाउने उल्लेख गर्दै विश्वविद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ गर्न विद्यार्थीहरू सद्भावका दूतका रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत जीवविज्ञान तथा रसायनशास्त्र केन्द्रीय विभागका प्रमुख धर्मराज थापा र स्ववियु मध्यपश्चिम विश्वविद्यालयका संस्थापक अध्यक्ष झक्कबहादुर शाहीले खेलकुदले युवामा एकता, आत्मविश्वास र सामाजिक उत्तरदायित्व विकास गर्ने भन्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा विश्वविद्यालयका विभिन्न पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी, खेलप्रेमी तथा विभिन्न पेशागत संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता मध्यपश्चिम विश्वविद्यालय अतिरिक्त क्रियाकलाप समिति संयोजक डा. अम्मरबहादुर रोकायले गर्नुभएको थियो भने सदस्य–सचिव सैलेन्द्र पाठकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

स्वागत मन्तव्य स्ववियु अध्यक्ष इ. विवेक खड्काले व्यक्त गर्नुभएको थियो। साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतीमार्फत समारोहलाई थप आकर्षक बनाएका थिए।
माघ १४ गतेसम्म सञ्चालन हुने एमयू कप २०८२ अन्तर्गत भलिबल, फुटबल, बास्केटबल, क्रिकेट लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। आयोजकले
खेलकुदमार्फत आपसी सद्भाव, अनुशासन, मित्रता र स्वस्थ प्रतिस्पर्धाको संस्कृति विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको एमयू कपले विश्वविद्यालयको शैक्षिक वातावरणलाई अझ जीवन्त बनाउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२ माघ १० गते शुक्रवार