२०८२ माघ १७ गते शुक्रवार

२७ मिनेटको कमलासन, विजय शाहीले गिनिजमा नेपालको नाम चम्काए



२७ मिनेटको कमलासन, विजय शाहीले गिनिजमा नेपालको नाम चम्काए

कमल कुमार शाही
स्वाभिमान खबर, पुष १५
काठमाडौँ। नेपाली योग साधक विजय शाहीले योग साधनाको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै गिनिज वर्ल्ड रेकर्ड आफ्नो नाममा दर्ता गराएका छन्। शाहीले उपवर्ती कमलासन २७ मिनेट ०३ सेकेन्डसम्म निरन्तर राख्दै नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।

यसअघि सोही आसनमा रहेको गिनिज रेकर्ड २० मिनेट ३६ सेकेन्डको थियो। विजय शाहीले उक्त कीर्तिमानलाई ६ मिनेट २७ सेकेन्डले उछिन्दै नयाँ मापदण्ड स्थापित गरेका छन्। गिनिज वर्ल्ड रेकर्ड्सले निर्धारित सबै मापदण्ड पूरा भएको पुष्टि गर्दै शाहीलाई आधिकारिक प्रमाणपत्र प्रदान गरेको छ।

औपचारिक कार्यक्रममा नेपाली मौलिक पोशाकसहित कमलासन प्रस्तुत गरेका शाहीले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र सहनशीलताको उच्च उदाहरण प्रस्तुत गरे। उपस्थित योग विज्ञहरूका अनुसार लामो समयसम्म स्थिर आसन कायम गर्नु सामान्य उपलब्धि नभई उच्च स्तरको अनुशासन र साधनाको परिणाम हो।

विजय शाही लामो समयदेखि योग, ध्यान र शारीरिक साधनामा सक्रिय छन्। उनले नियमित अभ्यास, संयमित जीवनशैली र मानसिक दृढताले यस्तो उपलब्धि सम्भव भएको प्रतिक्रिया दिएका छन्।

उनका अनुसार योग केवल शारीरिक व्यायाम मात्र नभई आत्मानुशासन र चेतनाको विकाससँग जोडिएको जीवनपद्धति हो।
यो कीर्तिमानसँगै नेपालको योग परम्परा र साधनाले अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान पाएको छ। विजय शाहीको यस उपलब्धिलाई विभिन्न क्षेत्रका व्यक्तित्व, योग अभ्यासकर्ता तथा शुभेच्छुकहरूले ऐतिहासिक सफलता भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार