२०८३ जेष्ठ १४ गते बिहिवार

सर्लाहीमा भदौ २५ देखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उखु किसानको चेतावनी, काठमाडौंमा आन्दोलन पाँचौँ दिन प्रवेश



सर्लाहीमा भदौ २५ देखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उखु किसानको चेतावनी, काठमाडौंमा आन्दोलन पाँचौँ दिन प्रवेश­

कमल कुमार शाही
स्वाभिमान खबर, भदौ १४ काठमाडौं

काठमाडौं । राजधानीमा आन्दोलनरत उखु किसानकाे आन्दोलन आज  पाँचौँ दिनमा प्रवेश गरेको छ। लगातार पाँच दिनदेखि काठमाडौंमा धर्ना, जुलुस र विरोधसभामा उत्रिएका किसानहरूले अब आन्दोलनलाई सर्लाहीतर्फ सार्दै भदौ २५ गतेदेखि हरिवनमा अनिश्चितकालीन रूपमा राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्।

किसानहरूले सरकारको लापरबाही र प्रतिवद्धता कार्यान्वयनमा ढिलाइप्रति आक्रोश व्यक्त गर्दै थप संघर्षका कार्यक्रमहरू पनि सार्वजनिक गरेका छन्। उनीहरूले गाउँ–गाउँमा किसान भेला गर्ने, जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, उपत्यकामा ठूला प्रदर्शन गर्ने र अन्ततः राजमार्ग अवरोधलाई निरन्तरता दिने योजना सार्वजनिक गरेका छन्।

आन्दोलनका नेतृत्वकर्ताहरूले भनेका छन्, “अब आन्दोलन चरणबद्ध मात्र होइन, निर्णायक चरणमा प्रवेश गर्छ। सरकारले माग सम्बोधन नगरे सर्लाहीदेखि सुरु हुने आन्दोलन देशव्यापी रुपमा फैलिनेछ।”

उनीहरूको प्रमुख मागमा उखु किसानले पाउदै आएको सरकारले दिने भनिएको सब्सिडी ७० नै कायम हुनुपर्ने  , उचित मूल्य निर्धारण, चिनी उद्योगबाट बक्यौता रकम तत्काल भुक्तानी, र  किसानमैत्री कृषि नीतिको कार्यान्वयन रहेका छन्।

यसैबीच सरकारले किसानसँग संवादको पहल गर्ने तयारी जनाएको छ। तर आन्दोलनरत किसानहरूको अडान भने, “वार्ता मात्रै होइन, नतिजामुखी निर्णय चाहिन्छ” भन्नेमा कायम छ।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार