सब्सिडी कटौतीको विरोधमा काठमाडौं जाँदै उखु किसान : भागेश्वर सुगर मिल समितिको टोली बससहित प्रस्थान
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर – भदौ ६, कञ्चनपुर
कञ्चनपुर । नेपाल सरकारले उखु किसानलाई दिँदै आएको सब्सिडी कटौती गर्ने निर्णय गरेपछि किसानहरू आन्दोलनतर्फ उत्रिएका छन्। यसै सन्दर्भमा भागेश्वर सुगर मिल किसान समिति, कञ्चनपुरले आफ्ना किसानलाई आन्दोलनका लागि काठमाडौं पठाएको छ।
शुक्रबार बिहान समितिका पदाधिकारी र किसानहरूले ब्यानरसहितको बसमार्फत कञ्चनपुरबाट प्रस्थान गरेका छन्। आन्दोलनमा सहभागी हुन राजधानी जाँदै गरेको टोलीमा समितिका अध्यक्ष नारायण भण्डारी, उपाध्यक्ष पदम गिरी र अति राम चौधरी, सचिव मुलान तामाङ, सह–सचिव विश्राम राना, कोषाध्यक्ष जंगबहादुर तामाङ र सल्लाहकार संयोजक भरत बिष्ट तिर्थ खड्का लगायतको नेतृत्वमा करिब ५०–६० जना अग्रज किसान समावेश छन्।
यस्तै, समितिले दिएको जानकारीअनुसार देशका विभिन्न जिल्लाबाट समेत किसानहरू काठमाडौंमा भेला हुँदैछन्। किसानहरूले सरकारको सब्सिडी कटौतीलाई ‘किसानमाथिको प्रत्यक्ष प्रहार’ भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
मलखाद र विउको समस्या

उखु किसानले सब्सिडी मात्र नभई विगतदेखि मलखाद र विउ अभावको समस्याले पनि पिरोलिरहेको बताएका छन्। उखुको उत्पादन बढाउन गुणस्तरीय मल र विउ अत्यावश्यक भए पनि सरकारी निकाय र सम्बन्धित निकासी–प्रवर्द्धन संस्थाले यसतर्फ ध्यान नदिएको किसानको गुनासो छ। बजारमा उपलब्ध मलखाद महँगो, गुणस्तरहीन र समयमा नपाइने भएकाले किसानलाई उत्पादन लागत अझै बढ्ने गरेको छ।
त्यस्तै, उखु विउ व्यवस्थापनमा पनि ठोस योजना नहुँदा किसानहरूले उत्पादनमा ह्रास भोग्नुपरेको उनीहरूको भनाइ छ। “सब्सिडी काटेर मात्र होइन, गुणस्तरीय मलखाद र विउको पहुँच सुनिश्चित नगरी सरकारले किसानलाई टिकाउ खेती गर्न सक्दैन,” किसानहरूको अभिव्यक्ति छ।
उखु किसानका दीर्घकालीन समस्या
उखु किसानले भोगिरहेका समस्या केवल सब्सिडी वा मलखादमै सीमित छैनन्। उत्पादनपछि केही उखु मिलहरूले समयमा पैसा तिर्ने नगरेको , सरकारसँग तोकिएको मूल्य कार्यान्वयनमा ढिलाइ हुने गरेको, र बजारमा मूल्यको अस्थिरताले किसानको जीवन असुरक्षित बनाएको गुनासो छ।
समितिका पदाधिकारीहरूले भने, “उत्पादन लागत दिनप्रतिदिन बढिरहेको छ, बजारमा मूल्य अनिश्चित छ। यस्तो अवस्थामा सब्सिडी कटौती किसानको जीवन र जीविकामाथि आक्रमण हो। सरकारले निर्णय फिर्ता नलिएसम्म आन्दोलनलाई चरणबद्ध रूपमा अगाडि बढाइनेछ।”
उखु किसानहरूको बस यात्रा सुरु भएको तस्बिरमा उनीहरू उत्साहका साथ काठमाडौं प्रस्थान गर्न तयार देखिएका छन्। आन्दोलन काठमाडौं केन्द्रीत हुने भएकाले राजधानीमा ठूलो संख्यामा किसानहरूको उपस्थिति हुने अनुमान गरिएको छ।
कञ्चनपुरबाट काठमाडौं जाँदै गरेका भागेश्वर सुगर मिल किसान समितिका पदाधिकारी तथा किसानहरू।


तस्वीर : स्वाभिमान खबर













प्रतिक्रिया दिनुहोस्