२०८३ जेष्ठ १४ गते बिहिवार

मेयरसँग महिला किसान कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण : कृषि विकासको मेरुदण्ड महिलाका हातमा



मेयरसँग महिला किसान कार्यक्रम  अन्तर्गत प्रविधि हस्तान्तरण : कृषि विकासको मेरुदण्ड महिलाका हातमा

कमल कुमार शाही
स्वाभिमान खबर , असार ३२

वीरेन्द्रनगर, सुर्खेत – “कृषिमा आधुनिक प्रविधिको पहुँच बिना समृद्धि सम्भव छैन, र त्यो पहुँच महिलासम्म पुगे मात्रै समावेशी विकास सम्भव हुन्छ” — यही धारणा साकार तुल्याउने उद्देश्यले वीरेन्द्रनगर नगरपालिकाले मेयरसँग महिला किसान कार्यक्रम अन्तर्गत कृषि प्रविधि महिला किसानहरूलाई हस्तान्तरण गरेको छ।

नगरपालिकाको आयोजनामा आयोजित एक विशेष समारोहमा मेयर मनमाया ढकाल समेतको उपस्थितिमा महिला किसानहरूलाई मिनिटिलर, पावर टिलर र च्याफकटर जस्ता प्रविधियुक्त कृषि उपकरणहरू हस्तान्तरण गरियो। समारोहमा सहभागी महिला किसानहरूले फूलमाला र सम्मानसहित माया अभिव्यक्त गरे, जसले कार्यक्रममा उत्साह थप्यो।

कार्यक्रममा नगर प्रमुखले भन्नुभयो, “हामी प्रविधि हस्तान्तरणलाई केवल औजार वितरण होइन, महिला सशक्तीकरण र आत्मनिर्भरता निर्माणको मुख्य स्तम्भका रूपमा हेर्छौं। महिलालाई आत्मनिर्भर बनाउने अभियानमा यो एउटा निर्णायक कदम हो।”

उक्त कार्यक्रममा सहभागी महिलाहरूले प्रविधि प्रयोगले उत्पादन बढाउने, समय र श्रम बचत गर्ने र व्यावसायिक कृषि सम्भावना विस्तार गर्ने विश्वास व्यक्त गरे। स्थानीय महिला कृषकले भनिन्, “हामीले अब परम्परागत तरिकामा मात्र होइन, वैज्ञानिक कृषि प्रविधिको प्रयोग गरेर आयमूलक उत्पादन गर्न सक्नेछौं।”

समारोहमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, कृषि शाखा प्रमुख, स्थानीय सहकारी प्रतिनिधिहरू तथा विभिन्न टोल र समूहका महिला किसानहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा , स्वागत मन्तव्य र धन्यवाद ज्ञापनसहित सौहार्दपूर्ण वातावरणमा उपकरण वितरण गरिएको थियो।

प्रविधिको पहुँच महिला किसानसम्म पुर्‍याएर कृषिमा महिलाको सहभागिता र आत्मविश्वास दुबै वृद्धि गर्ने यो कार्यक्रमले कृषि क्षेत्रको आधुनिकीकरण र महिलाको सामाजिक, आर्थिक उन्नतिमा उल्लेखनीय टेवा पुगाउने विश्वास लिइएको छ।

कार्यक्रमका केही तस्बिरहरु

प्रकाशित मिति : २०८२ साउन २ गते बिहिवार