धान दिवसमा रमाइलो धेरै, किसानको बेदना सुन्ने कोही छैन
✍ अशोक शाही
स्वाभिमान खबर काठमाडौं , असार १५
देशभर आज राष्ट्रिय धान दिवस धुमधामसाथ मनाइँदैछ। खेतमा हिलो खेल्दै, रमाइलो गर्दै धान रोप्ने कार्यक्रमका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्।
तर उत्सवको यो चमकभित्र सधैंजसोजस्तो फेरि एक पटक किसानका पीडा र गुनासा भने ओझेलमा परेका छन्।
कृषकहरुले धान दिवसलाई केवल देखावटी बनाइएको भन्दै गुनासो पोखेका छन्। सामाजिक सञ्जालमा भाइरल हुन फोटो खिच्ने प्रवृत्तिबाट उनीहरू असन्तुष्ट छन्। किसानहरूको भनाइमा – “धान रोप्ने बेलामात्र होइन, वर्षभरि हामीले मलका लागि लाइन बस्नुपर्छ, सिँचाइको व्यवस्था छैन, बीउ सहज छैन, अनि केही नजानेकाले एकदिन हिलो खेलेर किसानको बेदनामा रमाइरहेका छन्। यो अपमानजनक हो।”
एक स्थानीय किसानको भनाइ छ – “हामीलाई मल चाहिएको छ, कुलाे चाहिएको छ, बीउबिजन चाहिएको छ। तर सरकारलाई चाहिएको छ देखावटी कार्यक्रम। माग गर्दा कमिसनको कुरा आउँछ। वास्तविक किसानलाई सहयोग छैन तर ‘धान दिवस’का नाममा ठूलाठूला भाषण र फोटो खिचाइ चल्छ।”
नेपाल कृषि प्रधान देश भए तापनि वर्षभरि खान पुग्ने अन्न उब्जाउन पनि किसानलाई धौधौ पर्ने अवस्था छ। समयमा मल नपाउनु, सिँचाइको सुविधा अभाव, उन्नत बीउबिजनको अभावजस्ता समस्याले उनीहरू निरन्तर पीडामा छन्।
“सरकारले धान दिवसको बजेट कृषि सुधारमा लगाएको भए, त्यो उदाहरणीय काम हुन्थ्यो। हामीलाई भाषण होइन, व्यवहारिक सहयोग चाहिएको हो,” अर्का किसानको भनाइ छ।
धान दिवसको अवसरमा रमाइला कार्यक्रम र सामाजिक सञ्जालका पोस्टहरू देखिँदा वास्तविक कृषकका पीडा ओझेलमा परिरहेका छन्। किसानहरू भन्छन् – “हामीलाई सहानुभूति होइन, व्यवहारमै सुधार चाहिएको हो।”
कृषकहरूले सुझाव दिएका छन् कि धान दिवसलाई वास्तविक अर्थमा सफल बनाउन चाहिन्छ भने यो दिन कृषकका समस्याहरू पहिचान गर्ने, उनीहरूलाई सम्मान गर्ने र आवश्यक पूर्वाधार प्रदान गर्ने माध्यम बन्नुपर्छ।
यस्तो अवस्था हुँदाहुँदै पनि सम्बन्धित निकायका अधिकारीहरू भने धान दिवसको नाममा अनावश्यक खर्च र तडकभडकमै रमाइरहेका छन्।
यदि धान दिवसलाई साँच्चिकै सार्थक बनाउनु हो भने – किसानलाई मल, बीउ, सिँचाइ तथा अनुदानको पहुँच सुनिश्चित गर्नुपर्छ। हाम्रा खेतहरूमा उत्पादकता बढेपछि मात्र किसान मुस्कुराउँछ, अनि मात्र धान दिवस उत्सव हुन्छ – देखावटी होइन।













प्रतिक्रिया दिनुहोस्