२०८३ बैशाख ३ गते बिहिवार

धान दिवसमा विप्लव र प्रवक्ता खेतमै : नेकपाको आत्मनिर्भर उत्पादन अभियान तीव्र



धान दिवसमा विप्लव र प्रवक्ता खेतमै : नेकपाको आत्मनिर्भर उत्पादन अभियान तीव्र
कमल कुमार शाही
स्वाभिमान खबर काठमाडौँ, असार १३
केही वर्षअघिसम्म असार १५ अर्थात् धान दिवसको नाममा गमलामा धान रोप्ने प्रदर्शन गरेर औपचारिकता पूरा गर्ने परम्परा थियो। राज्य सञ्चालन गरेका शीर्ष नेताहरूले धान दिवसलाई मञ्च, माइक र गमलासम्म सीमित गरेका थिए। तर यसपटक त्यो परम्परा टुटेको छ — नेकपाले देशभर सयौं बिघा खेतमा धान रोपेर ‘गमला राजनीति’को आलोचनात्मक अन्त्य गर्दै सरकारलाई पनि खेतमा झर्न बाध्य बनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता–कार्यकर्ता, आत्मनिर्भर देश’को नाराका साथ सुरु गरेको एक महिने उत्पादन अभियानको क्रममै धान दिवसमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सी र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सी स्वयं खेतमा उत्रिए।

दुबै शीर्ष नेताहरूले किसानसँग काँध मिलाउँदै रोपाइँमा पसिनासँगै राजनीतिक सन्देश पनि पोखेका छन्। महासचिव विप्लवले भने, “राजनीति गमलामा धान रोपेर फोटो खिचाउने काम होइन, जमिन र जनजीवनसँग जोडिने संघर्ष हो। हामी व्यवहारमा आत्मनिर्भर बन्ने अभ्यास गर्दैछौं।”

त्यसैगरी प्रवक्ता प्रकाण्डले भने, “क्रान्ति जमिनबाट सुरु हुन्छ। उत्पादनमा सहभागी भएर जनताको माटोसँग जोडिनु नै सच्चा राजनीत हो।”

नेकपाको उत्पादन अभियान असार १० गतेबाट सुरु भई साउन १० गतेसम्म चल्नेछ। अभियानमा पार्टीका सम्पूर्ण तहका नेता–कार्यकर्ता खेतबारीदेखि खलियानसम्म प्रत्यक्ष खटिएका छन्। कतै सामूहिक रोपाइँ भइरहेको छ भने कतै कृषकहरूसँग बीउ, मल, श्रम र प्रविधिको सहकार्यमा उत्पादनमूलक कार्यक्रम सञ्चालन गरिएको छ।

धेरैले यस अभियानलाई खेत र कृषिमा फर्किनुपर्छ भन्ने सन्देश दिने ‘नयाँ राजनीतिक अभ्यास’को रूपमा लिएका छन्। विश्लेषकहरू भन्छन्, “नेकपाको यो कदमले कम्तीमा १ दिनका लागि भए पनि सरकारलाई खेतमा धान रोप्न बाध्य बनाएको छ।”

धान दिवसको दिन गमलाबाट खेतमा पुगेको यो सन्देशले अबको राजनीति श्रम, उत्पादन र जनसरोकारमा आधारित हुनुपर्छ भन्ने धारणा बलियो बनाएको छ।

तस्बिरमा नेकपा काे धान राेपाई

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार