मध्यपश्चिम विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माण तीव्र– अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता कार्यदलसँग अन्तरक्रिया सम्पन्न
कमल कुमार शाही
स्वाभिमान खबर, मंसिर ९
सुर्खेत, मंसिर ८ । मध्यपश्चिम विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माण कार्य तीव्र गतिमा अघि बढ्दै गएको छ। योजना निर्माणका सवालमा विषयगत समितिहरुसँग चरणबद्ध बैठक जारी रहेको छ । अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता योजना निर्माण कार्यदलसँगको महत्वपूर्ण बैठक सोमवार सम्पन्न भएको हो।
मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक तथा पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा. विष्णुकुमार खड्काको अध्यक्षतामा भएको बैठक भर्चुअल र भौतिक दुवै माध्यममार्फत सम्पन्न भएको थियो।
बैठकलाई निर्देशन दिँदै डा. खड्काले समयसीमा भित्र योजना निर्माण कार्यलाई अन्तिम रूप दिन विषयगत उपसमितिका विज्ञताको प्रभावकारी उपयोग गर्न आग्रह गर्नुभयो। निर्धारित कार्यतालिकाअनुसार तेस्रो दिन आयोजित यस अन्तरक्रियामा योजना निर्माण प्रक्रियालाई मार्गदर्शन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा भौतिकरूपमा उपस्थित कार्यदल संयोजक डा. अनुप बस्नेत क्षेत्री, सदस्य उपप्रा. डा. सर्पराज रोकाय, उपप्रा. पार्वती कुमारी उपाध्यायलगायतले आवधिक योजना विश्वविद्यालयको दिशानिर्धारण गर्ने महत्वपूर्ण गोरेटो भएकाले सबैको स्वामित्वसहित निर्माणाधीन रणनीतिक योजनामा व्यावहारिक, विषयगत र तथ्यपरक सुझाव यथाशीघ्र पेश गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी भर्चुअल माध्यमबाट सहप्रा. डा. करणसिंह धामी, उपप्रा. डा. मदनमणि सापकोटा, उपप्रा. डा. रामसुरेश यादव, डम्बरबहादुर खड्का, पुष्करनाथ रिजाल, डा. खोपिराम वली क्षेत्री, पुष्कर सापकोटालगायत विभिन्न आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका प्रतिनिधिहरूले अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउने रणनीति निर्माणका सुझाव प्रस्तुत गरे।
बैठकको सञ्चालन निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसीले गर्नुभएको थियो। कार्यक्रममा अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक डा. पुष्पराज आचार्यसहित कर्मचारीहरुको उपस्थिति रहेको थियो।
मध्यपश्चिम विश्वविद्यालयले बनाइरहेको पाँच वर्षे रणनीतिक योजना संस्थागत सुधार, शैक्षिक गुणस्तर, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई केन्द्रमा राखेर अघि बढाइने बताइएको छ।












प्रतिक्रिया दिनुहोस्