२०८३ जेष्ठ १४ गते बिहिवार

मुख्यमन्त्री कँडेलले खेत रोप्दै भने : “आर्थिक समृद्धिको आधार कृषि हो”



मुख्यमन्त्री कँडेलले खेत रोप्दै भने : “आर्थिक समृद्धिको आधार कृषि हो”
कमल कुमार शाही
✍ स्वाभिमान खबर असार १५, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् । उनले खेतमा रोपाइँ गर्दै कृषिमा आत्मनिर्भरता हासिल गरेर प्रदेशको समृद्धि सम्भव हुने धारणा राखे ।

अखिल नेपाल किसान महासङ्घ जिल्ला समिति सुर्खेतले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी हुँदै मुख्यमन्त्री कँडेलले भने, “खेतीपातीलाई अब जीविकोपार्जनको भर होइन, व्यवसायको मूल आधार बनाउनु पर्छ । कृषि नै रोजगारी, उत्पादन र आम्दानीको सुनिश्चित स्रोत हो ।”

मुख्यमन्त्री कँडेलले परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं, तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक छ ।”

उनले कर्णाली प्रदेशको भौगोलिक विशिष्टताले यहाँ विशिष्ट कृषि उत्पादनको सम्भावना बोकेको उल्लेख गर्दै वैज्ञानिक ढंगले व्यवस्थापन गरिएमा कृषिले नै प्रदेशको आर्थिक संरचनालाई मजबुत बनाउन सक्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्रीका अनुसार प्रदेश सरकारले कृषक दर्ता, सहुलियत ऋण, गुणस्तरीय बीउ र मल वितरण, तालिम र सिँचाइ पूर्वाधारमा विशेष प्राथमिकता दिएको छ ।

कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिक, संघ–संस्था र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो । मुख्यमन्त्री स्वयंले खेतमा छोप्याली गर्दै रोपाइँमा हात हालेका दृश्यले कार्यक्रममा उल्लास थपेको थियो ।
राेपाइका – तस्बिरहरू

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार