२०८३ साउन १३ गते बुधवार

पंञ्चदेवल विनायककाे ऐतिहासिक कदम: अब ‘घरेलु मदिरा’ लुकीछिपी होइन, ब्रान्ड बनेर बजारमा आउने



पंञ्चदेवल विनायककाे ऐतिहासिक कदम: अब ‘घरेलु मदिरा’ लुकीछिपी होइन, ब्रान्ड बनेर बजारमा आउने
कमल कुमार शाही
स्वाभिमान खबर, असार ८, अछाम।
अब अछामका गाउँ–घरमा परम्परागत तरिकाले बनाइने घरेलु मदिरा लुकीछिपी होइन, कानुनी दायराभित्र रही ब्रान्ड बनेर खुला बजारमा बिक्री हुने भएको छ। पञ्चदेवल विनायक नगरपालिकाले ऐतिहासिक निर्णय लिँदै ‘घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन’ पारित गरी परम्परा र उत्पादनलाई औपचारिकताको बाटोमा डोहोर्याएको हो।

नगरपालिकाको १४औं नगरसभाबाट सर्वसम्मत पारित उक्त ऐनले अब कोदो, मकै, जौजस्ता अन्नबाट बनाइने मदिराको गुणस्तर परीक्षण गर्दै नाम, लेबल र दर्ता प्रणालीमार्फत उत्पादनलाई कानुनी मान्यता दिने भएको छ।

नगरप्रमुख अम्बिका चलाउनेले भनिन्, “मदिरा हाम्रो जनजातीय परम्पराको अभिन्न हिस्सा हो। यसलाई नकारात्मक रूपमा होइन, व्यवस्थित रूपमा रोजगारी र आम्दानीको स्रोतका रूपमा हेर्ने हाम्रो प्रयास हो।”

उनले घरेलुस्तरमै बनाइने परम्परागत मदिरालाई व्यवसायिक रूप दिन यो ऐन अपरिहार्य रहेको बताउँदै स्थानीय सीप, संस्कृति र स्रोतलाई उपयोग गर्दै सामाजिक र आर्थिक लाभको सम्भावना औंल्याइन्।

नगर उपप्रमुख हर्कबहादुर रावलका अनुसार, यो निर्णयले लुकीछिपी हुने अवैध कारोबार घटाउनेछ भने पारदर्शी दर्ता प्रक्रिया र कर प्रणालीले नगरको आर्थिक अनुशासनमा मद्दत पुर्याउनेछ। “स्थानीय उत्पादन अब कानुनी दायरामा आएर आयआर्जन र रोजगारको नयाँ ढोका खोल्नेछ,” उपप्रमुख रावलले भने।

रोजगार संयोजक भरतराज अधिकारीले ऐन अनुसार गुणस्तरीय मदिरा उत्पादन दर्ता प्रणालीमा ल्याएर साना घरेलु उद्योगको रूप दिइने जानकारी दिए। “कार्यविधि र नियमावली तयार भइरहेका छन्। उत्पादनको गुणस्तर मापनपछि आवश्यक सर्टिफिकेसन र ब्रान्डिङका चरणहरू तय गरिनेछन्,” उनले भने।

अवैध रूपमा मदिरा उत्पादन तथा बिक्री गर्नेहरूलाई कानुनले कडाइका साथ कारवाही गर्ने प्रावधान पनि ऐनमा समावेश गरिएको छ। उल्लंघनकर्तालाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखिएको छ।

स्थानीय सीप, रोजगारी र संस्कृति जोगाउने प्रयास

यो निर्णय केवल आर्थिक दृष्टिले मात्र होइन, सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। परम्परागत सीपलाई औपचारिक उद्योगमा परिणत गर्दै स्थानीय बासिन्दाहरूलाई प्रोत्साहन गर्ने नगरपालिकाको यो पहलले अछाममा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

स्थानीय उत्पादनलाई कानुनी रूप दिँदै, नियमन, गुणस्तर र कर प्रणालीमार्फत मदिरा उद्योगलाई सुरक्षित र मर्यादित बनाउने पञ्चदेवल विनायक नगरपालिकाको यो प्रयास नेपालको अन्य पालिकाहरूका लागि पनि अनुकरणीय बन्न सक्छ।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमवार