२०८२ माघ १७ गते शुक्रवार

मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगमा अध्यक्ष थापा र सदस्य गैरेद्वारा औपचारिक रूपमा पदभार ग्रहण



मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगमा अध्यक्ष थापा र सदस्य गैरेद्वारा औपचारिक रूपमा पदभार ग्रहण

कमल कुमार शाही

स्वाभिमान खबर,माघ १४
वीरेन्द्रनगर, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. पन्ना थापा र सदस्य सह–प्रा. डा. अमृतकुमार शर्मा गैरेले औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय, वीरेन्द्रनगरमा २०८२ साल माघ १४ गते आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रममा उहाँहरूले आ–आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो ।

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री तथा मध्यपश्चिम विश्वविद्यालयका कुलपतिद्वारा गत माघ ४ गते नियुक्त भएका अध्यक्ष र सदस्यलाई एक विशेष समारोहका बीच स्वागत गरिएको थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल, विभिन्न संकायका प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. गौतमले सेवा आयोग विश्वविद्यालयको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै शैक्षिक गुणस्तर, पारदर्शिता र निष्पक्ष नियुक्ति प्रक्रियामा आयोगको भूमिका निर्णायक हुने बताउनुभयो । रजिष्ट्रार प्रा. डा. कँडेलले पनि नवनियुक्त नेतृत्वको कार्यकालमा आयोग अझ प्रभावकारी, उत्तरदायी र विश्वसनीय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पदभार ग्रहण पश्चात् अध्यक्ष थापा र सदस्य गैरेलाई उपस्थित पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा अन्य अतिथिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नयाँ नेतृत्वसँगै सेवा आयोगले विश्वविद्यालयको मानव संसाधन व्यवस्थापनलाई थप व्यवस्थित, गुणस्तरीय र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमको सहजीकरण समन्वय तथा मानव संशाधन शाखाका प्रशासन प्रमुख तुल्सी घर्तीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बुधवार