२०८३ असोज ४ गते आइतवार

शुल्क वृद्धिको विरोधमा सुर्खेत बहुमुखी क्याम्पसमा लागेको ताला खुल्यो, बढेको शुल्क फिर्ता हुने



शुल्क वृद्धिको विरोधमा सुर्खेत बहुमुखी क्याम्पसमा लागेको ताला खुल्यो, बढेको शुल्क फिर्ता हुने

कमल कुमार शाही
स्वाभिमान खबर, असोज ४, सुर्खेत
सुर्खेत बहुमुखी क्याम्पस प्रशासनले विभिन्न अध्ययन संकायमा वृद्धि गरेको भर्ना शुल्क फिर्ता लिन सहमत भएपछि क्याम्पसमा उत्पन्न विवाद समाधानतर्फ गएको छ। क्याम्पस प्रशासन र आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरूबीच भएको वार्तामा शुल्क वृद्धि फिर्ता गर्ने सहमति जुटेसँगै क्याम्पस प्रमुख कार्यकक्ष आम्दानी शाखा मा लगाइएको ताला खोलिएको हो।
शुल्क वृद्धि फिर्ता गर्ने सहमति भएपछि लामो समयदेखि जारी विद्यार्थी आन्दोलनसमेत तत्कालका लागि रोकिएको छ। ताला खुलेसँगै क्याम्पसको पठनपाठन तथा प्रशासनिक कामकाज नियमित रूपमा सञ्चालन हुने वातावरण बनेको छ।

शुल्क बृद्धि: विद्यार्थी संगठन आन्दोलित


क्याम्पस प्रशासनले विद्यार्थी तथा सरोकारवालासँग आवश्यक छलफल नगरी एकपक्षीय रूपमा विभिन्न संकायको भर्ना शुल्क वृद्धि गरेको भन्दै क्याम्पसमा क्रियाशील ६ वटा विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका थिए।
विद्यार्थी संगठनका अनुसार त्रिभुवन विश्वविद्यालयको वार्षिक नियमावलीअनुसार क्याम्पस सञ्चालनका क्रममा विभिन्न शीर्षकमा शुल्क निर्धारण गरिएको भए पनि पछिल्लो समय गरिएको शुल्क वृद्धि विद्यार्थीको हितविपरीत रहेको भन्दै उनीहरूले विरोध जनाएका थिए।
क्याम्पसले बीएडको भर्ना शुल्क रु. ७ हजार ५ सयबाट बढाएर रु. ९ हजार तथा बीबीएसको रु. ९ हजारबाट बढाएर रु. ११ हजार ५ सय पुर्‍याएको थियो।
तर, विद्यार्थी संगठनसँग भएको पछिल्लो सहमतिपछि बीबीएसतर्फको भर्ना शुल्क रु. १० हजार कायम गर्ने सहमति भएको जनाइएको छ।
क्याम्पस प्रमुखको कार्यकक्ष र आम्दानी शाखामा तालाबन्दी
अस्वाभाविक रूपमा गरिएको शुल्क वृद्धि फिर्ता लिनुपर्ने तथा आगामी दिनमा विद्यार्थीसम्बन्धी महत्वपूर्ण नीतिगत निर्णय गर्दा विद्यार्थी प्रतिनिधिसँग अनिवार्य रूपमा छलफल गर्नुपर्ने माग राख्दै विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन थालेका थिए।
आन्दोलनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियु क्रान्तिकारी (वैद्य) र नेक्राबिसंघ सहभागी थिए।
संयुक्त विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोधमा क्याम्पस प्रमुखको कार्यकक्ष तथा आम्दानी शाखामा तालाबन्दी गर्नुका साथै सवारीसाधन सञ्चालनसमेत अवरुद्ध गरेका थिए।
विद्यार्थी संगठनहरूले शुल्क वृद्धि फिर्ता गर्नुपर्ने, विद्यार्थीमाथि आर्थिक भार थप्ने निर्णय नगर्नुपर्ने र भविष्यमा शुल्क तथा अन्य नीतिगत विषयमा विद्यार्थी प्रतिनिधिसँग छलफल गरेर मात्रै निर्णय गर्नुपर्ने माग अघि सारेका थिए।

वार्तापछि जुट्यो सहमति


विद्यार्थीहरूको चरणबद्ध आन्दोलन र तालाबन्दीपछि क्याम्पस प्रशासन र विद्यार्थी प्रतिनिधिबीच वार्ता भएको थियो। क्याम्पस प्रमुख माधवप्रसाद खनाल र संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिबीच भएको छलफलमा शुल्क वृद्धिको विषयमा सहमति जुटेको हो।
वार्तामा विद्यार्थी संगठनहरूले उठाउँदै आएको शुल्क वृद्धि फिर्ताको मागलाई सम्बोधन गर्ने सहमति भएपछि विद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला खोलेका हुन्।
सहमति कार्यान्वयनसँगै क्याम्पसमा देखिएको तनाव तत्कालका लागि साम्य भएको छ। ताला खुलेपछि पठनपाठन, प्रशासनिक सेवा तथा अन्य नियमित गतिविधि पुनः सञ्चालन हुने भएका छन्।
विद्यार्थी संगठनहरूले भने भएको सहमति व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। साथै आगामी दिनमा विद्यार्थीलाई प्रत्यक्ष प्रभाव पार्ने शुल्क तथा नीतिगत निर्णय गर्दा सम्बन्धित विद्यार्थी प्रतिनिधिसँग छलफल र सहमति गरेर अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ।
यससँगै शुल्क वृद्धिलाई लिएर केही समयदेखि सुर्खेत बहुमुखी क्याम्पसमा देखिएको विवाद वार्ता र सहमतिमार्फत समाधान भएको छ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार