कर्णालीका शिक्षक लोकेन्द्र चन्द ‘पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार’बाट सम्मानित
गोविन्द वहादुर रावत
स्वाभिमान खबर, भदौ २०
सुर्खेत । कर्णाली प्रदेशका शिक्षक लोकेन्द्र चन्द प्रतिष्ठित ‘पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार’ बाट सम्मानित हुनुभएको छ।
पी.पी. प्रसाई फाउण्डेसनद्वारा प्रदान गरिँदै आएको उक्त पुरस्कारबाट चन्दलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षण सिकाइमा नवीन तथा रचनात्मक विधिको प्रयोग र शिक्षा क्षेत्रमा पुर्याएको निरन्तर योगदानको कदरस्वरूप सम्मान गरिएको हो।
राष्ट्रियस्तरमा प्रदान गरिने यस प्रतिष्ठित शिक्षक सम्मानका लागि कर्णाली प्रदेशबाट चन्दलाई ‘उत्कृष्ट शिक्षक’ का रूपमा छनोट गरिएको हो। पुरस्कार ग्रहण गर्दै उहाँले आफूलाई प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि कर्णालीको शिक्षा क्षेत्र र सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरूको सम्मानका रूपमा लिएको बताउनुभएको छ।
सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न, शिक्षण प्रक्रियालाई थप प्रभावकारी र विद्यार्थीमैत्री बनाउन तथा विद्यालयको शैक्षिक वातावरण सुधार गर्न शिक्षक चन्दले निरन्तर भूमिका निर्वाह गर्दै आउनुभएको बताइएको छ।
शिक्षा क्षेत्रमा समर्पित शिक्षकलाई राष्ट्रियस्तरमा सम्मान गर्ने उद्देश्यले पी.पी. प्रसाई फाउण्डेसनले हरेक वर्ष उत्कृष्ट शिक्षक छनोट गरी पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ। सोही क्रममा यस वर्ष कर्णाली प्रदेशबाट चन्दलाई छनोट गरी सम्मान गरिएको हो।
कर्णाली जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा सीमित स्रोत–साधनका बीच पनि सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सक्रिय शिक्षकलाई राष्ट्रियस्तरमा सम्मान गरिनुले प्रदेशको शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
चन्दको सम्मानले कर्णालीका शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा कार्यरत सरोकारवालामा थप उत्साह र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। ‘उत्कृष्ट शिक्षक’को सम्मानले शिक्षा क्षेत्रमा अझ जिम्मेवार र समर्पित भएर काम गर्ने प्रेरणा मिलेको भन्दै उहाँले आगामी दिनमा पनि गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्