२०८३ भाद्र २६ गते शुक्रवार

नेपाल चिकित्सक संघ सुर्खेतको अध्यक्षमा डा. केएन पौडेल निर्वाचित: स्वास्थ्य प्रणाली सुधारदेखि चिकित्सकको पेशागत हकहितसम्म प्राथमिकता



नेपाल चिकित्सक संघ सुर्खेतको अध्यक्षमा डा. केएन पौडेल निर्वाचित: स्वास्थ्य प्रणाली सुधारदेखि चिकित्सकको पेशागत हकहितसम्म प्राथमिकता
कमल कुमार शाही
स्वाभिमान खबर, भदौ २२
सुर्खेत — नेपाल चिकित्सक संघ (NMA) सुर्खेत शाखाको अध्यक्षमा डा. केएन पौडेल निर्वाचित भएका छन्। नेतृत्वको जिम्मेवारी पाएसँगै डा. पौडेलले चिकित्सकहरूको एकता, सहकार्य र पेशागत हकहितसँगै कर्णाली प्रदेशको स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्षको जिम्मेवारीलाई गौरवसँगै ठूलो जिम्मेवारी र चुनौतीका रूपमा लिएको बताउँदै डा. पौडेलले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण अग्रज, सहकर्मी तथा NMA सुर्खेत परिवारप्रति आभार व्यक्त गरेका छन्।

उनले चिकित्सकहरूबीचको एकता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ गर्दै चिकित्सकीय पेशाको गरिमा संरक्षण गर्न आफू नेतृत्वको कार्यसमिति प्रतिबद्ध रहने बताए। साथै कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ, प्रभावकारी र सेवामुखी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने उनको भनाइ छ।

पहिलो बैठकबाटै महत्वपूर्ण निर्णय
पदभार ग्रहण गरेपछि बसेको NMA सुर्खेत शाखाको पहिलो बैठकले शाखाका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले प्रदेश अस्पताल परिसरमा शाखा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। कार्यालय सञ्चालनमा आएपछि संघका नियमित गतिविधि, चिकित्सकका समस्या तथा पेशागत विषयमा छलफल र समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, संघका गतिविधिलाई थप सक्रिय बनाउन विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरिएको छ। उपसमितिमार्फत पेशागत, प्रशासनिक तथा सामाजिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने योजना नयाँ कार्यसमितिको छ।

बैठकले प्रत्येक महिनाको अन्तिम सातामा नियमित बैठक बस्ने निर्णय ।

संघका योजना, गतिविधि र चिकित्सकसँग सम्बन्धित समसामयिक विषयमा नियमित छलफल गरी आवश्यक निर्णय गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
संघलाई आर्थिक रूपमा समेत व्यवस्थित र आत्मनिर्भर बनाउने उद्देश्यले पदाधिकारी तथा सदस्यहरूबाट मासिक आर्थिक योगदान संकलन गर्ने निर्णय गरिएको छ।

बाढीपीडितलाई सहयोग गर्ने

NMA सुर्खेतले स्वास्थ्य क्षेत्रसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। बैठकले रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु चिकित्सक तथा स्वास्थ्यकर्मीको सामाजिक दायित्वसमेत भएकाले संघको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष डा. पौडेलले बताए।

मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र
नयाँ कार्यसमितिले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि प्रदेश सरकारसँग समन्वय र संवादलाई समेत प्राथमिकता दिने भएको छ।
यसक्रममा नवनियुक्त मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई बधाई ज्ञापन गर्दै स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी विषय समेटिएको ज्ञापनपत्र पेश गर्ने निर्णय गरिएको छ।
कर्णालीमा स्वास्थ्य सेवा प्रवाहका क्रममा देखिएका समस्या, चिकित्सक तथा स्वास्थ्यकर्मीका पेशागत विषय र स्वास्थ्य संस्थाको सेवा प्रभावकारितासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी संघले गरेको छ।
अध्यक्ष डा. पौडेलले महासचिव डा. किशोर, उपाध्यक्ष डा. शुभलगायत सम्पूर्ण कार्यसमितिको साथ, सहयोग र सहकार्यमा संघलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार चिकित्सकको पेशागत हकहित संरक्षण गर्नु संघको प्रमुख जिम्मेवारी भए पनि नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक छ।
नयाँ नेतृत्वले चिकित्सकका समस्या उठाउने मात्र नभई स्वास्थ्य प्रणाली सुधारका विषयमा रचनात्मक सुझाव र पहल गर्ने रणनीति अघि सारेको छ। चिकित्सकहरूको एकता र संस्थागत सक्रियतालाई बलियो बनाउँदै कर्णालीको स्वास्थ्य सेवा सुधारमा NMA सुर्खेतले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार