२०८२ माघ १७ गते शुक्रवार

कर्णाली खेलकुद परिषद् सदस्य सचिव नियुक्त अन्तिम चरणमा, तीन जना उम्मेदवार छनोट



कर्णाली खेलकुद परिषद् सदस्य सचिव नियुक्त अन्तिम चरणमा, तीन जना उम्मेदवार छनोट

कमल कुमार शाही
स्वाभिमान खबर,माघ ३
सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्य सचिव पदको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशले निर्धारण गरेको छनोट प्रक्रियाअनुसार मूल्यांकन र अन्तर्वार्ता सम्पन्न गरी तीन जना उम्मेदवारलाई अन्तिम सिफारिस सूचीमा समावेश गरेको हो ।

सामाजिक विकास मन्त्रालयले २०८२ असोज ३० गते प्रकाशित सूचनामार्फत सदस्य सचिव पदका लागि आवेदन आह्वान गरेको थियो । प्रारम्भिक योग्यता परीक्षणबाट छनोट भएका १० जना उम्मेदवारमध्ये २०८२ कात्तिक ३ गते अन्तर्वार्ता लिइएको मन्त्रालयले जनाएको छ । ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव छनोट सम्बन्धी मापदण्ड, २०८२’ अनुसार उम्मेदवारहरूको दफा ७ बमोजिमको मूल्यांकन अङ्क र दफा ८ बमोजिम अन्तर्वार्तामा प्राप्त अङ्कका आधारमा योग्यता क्रम निर्धारण गरिएको हो ।

दफा ९ अनुसार सार्वजनिक गरिएको सिफारिस सूचीमा पहिलो स्थानमा वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेतका रविन्द्र चन्द परेका छन् । दोस्रो स्थानमा भेरीगंगा नगरपालिका–४, सुर्खेतका दिपक हमाल रहेका छन् भने तेस्रो स्थानमा वीरेन्द्रनगर नगरपालिका–५, सुर्खेतका प्रमोद हमाल रहेका छन् ।

मन्त्रालयले सम्बन्धित सबैको जानकारीका लागि सिफारिस योग्यता क्रम सार्वजनिक गरिएको जनाएको छ । अब प्रदेश सरकारको निर्णयपछि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्ति हुने प्रक्रिया टुंगिनेछ ।

खेलकुद पूर्वाधार विकास, प्रदेशस्तरीय खेल नीति कार्यान्वयन, खेलाडी प्रोत्साहन तथा विभिन्न प्रतियोगिताको व्यवस्थापनमा सदस्य सचिवको भूमिका महत्वपूर्ण हुने भएकाले यस नियुक्तिलाई कर्णाली प्रदेशको खेलकुद क्षेत्रसँग जोडेर चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ४ गते शनिवार