२०८२ माघ १७ गते शुक्रवार

कर्णाली खेलकुदको भविष्य निर्णय गर्ने सदस्य–सचिव नियुक्तिमा शाहीको बलियो दाबेदारी



कर्णाली खेलकुदको भविष्य निर्णय गर्ने सदस्य–सचिव नियुक्तिमा शाहीको बलियो दाबेदारी

कमल कुमार शाही
स्वाभिमान खबर
पौष ९, सुर्खेत

कर्णाली प्रदेश खेलकुदको संरचना, नीति र दीर्घकालीन विकाससँग प्रत्यक्ष जोडिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्य–सचिव पदका लागि भइरहेको प्रतिस्पर्धाले प्रदेशको खेलकुद मात्र होइन, राजनीतिक वृत्तसमेत तताएको छ। खेलकुद प्रशासनको सबैभन्दा प्रभावशाली पद मानिने सदस्य–सचिवमा को पुग्छ भन्ने विषय अब कर्णाली खेलकुदको भविष्य निर्धारण गर्ने निर्णायक मोडका रूपमा हेरिन थालिएको छ।

अनुभव, नेतृत्व क्षमता, प्रशासनिक दक्षता र राजनीतिक समन्वयलाई मुख्य आधार मानिँदा यस प्रतिस्पर्धामा अनेरास्ववियुका पूर्व विद्यार्थी नेता गणेशबहादुर शाही बलियो र प्रभावशाली दाबेदारका रूपमा अगाडि आएका छन्।

खेलकुद, विद्यार्थी राजनीति र संगठन सञ्चालनको अनुभव बोकेका शाही हाल अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय उपाध्यक्षका आकांक्षीसमेत हुन्।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका शाही स्वयं बक्सिङ खेलाडी हुन्। खेलकुदलाई केवल प्रतियोगितामा सीमित नभई नीति, संरचना र संस्थागत विकाससँग जोड्नुपर्छ भन्ने दृष्टिकोण बोकेका शाही करिब एक दशकदेखि मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा आबद्ध रहँदै खेलकुद संस्थागत विकासका अभियानमा सक्रिय रहँदै आएका छन्।

खेलकुद वृत्तका अनुसार संगठन चलाउने क्षमता, निर्णय प्रक्रियामा स्पष्टता र पारदर्शी छविका कारण शाहीलाई भरोसायोग्य नेतृत्वका रूपमा हेरिएको छ। कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेल तथा केन्द्रमा एमाले महासचिव शंकर पोखरेल निकट मानिने शाहीको राजनीतिक पहुँच र संगठनात्मक पकडले सदस्य–सचिव नियुक्तिमा उनलाई अन्य प्रतिस्पर्धीभन्दा बलियो भएको बुझाइ छ।

राजनीतिक समन्वयको अभावका कारण कर्णाली प्रदेशको खेलकुदले अपेक्षित गति लिन नसकेको विगतको अनुभवबीच अब नीति, बजेट र कार्यान्वयनबीच सन्तुलन मिलाउन सक्ने नेतृत्व आवश्यक रहेको धारणा बलियो बन्दै गएको छ। यही पृष्ठभूमिमा राजनीतिक र खेलकुद दुवै क्षेत्र बुझ्ने व्यक्तित्वका रूपमा शाहीप्रति अपेक्षा बढेको देखिन्छ।

सुर्खेतलाई केन्द्र बनाएर प्रदेशस्तरमा खेलकुद अभियान सञ्चालन गर्दै आएका शाहीले ग्रामीण तहसम्म खेलकुद पूर्वाधार विस्तार, स्थानीय प्रतिभाको पहिचान, प्रशिक्षक उत्पादन, विद्यालय र कलेजस्तरको खेलकुद मजबुतीकरण तथा दिगो खेलकुद विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आएका छन्।

उनका समर्थकहरू शाही नेतृत्वमा खेलकुद प्रशासन कागजी प्रक्रिया र कार्यक्रम घोषणामा सीमित नभई व्यावहारिक, परिणाममुखी र समावेशी बन्ने विश्वास व्यक्त गर्छन्।
यस पदका लागि गणेश खनाल, विश्वमित्र सन्ज्याँल, हेमा खड्का, प्रमोद हमाललगायत २२ जनाभन्दा बढी आकांक्षी चर्चामा रहे पनि अनुभव, नेतृत्व क्षमता, राजनीतिक समन्वय र खेलकुदप्रतिको प्रतिबद्धताको दृष्टिले गणेशबहादुर शाहीको दाबेदारी बलियो देखिएको खेलकुद वृत्तको बुझाइ छ।

अब सदस्य–सचिवमा कसलाई जिम्मेवारी दिइन्छ भन्ने अन्तिम निर्णयले कर्णाली प्रदेशको खेलकुद नीति, संरचना र भविष्यको दिशा तय गर्ने अपेक्षा गरिएको छ। यही कारण अन्तिम निर्णयप्रति खेलाडी, प्रशिक्षक, खेलकुद संघ–संस्था र सरोकारवालाहरूको चासो उच्च बन्दै गएको छ।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार