२०८२ माघ १७ गते शुक्रवार

धैर्य र कर्तव्यको बाटो : मिनिमलिस्ट जीवन–दर्शन र ‘Survival of the Fittest’- प्रा . डा. नारायण पौडेल



आफ्ना भाइलाई सहयोग स्वरूप दिएँ। त्यो ऋण चुक्ता गर्न मलाई एक्लै सात वर्ष लाग्यो । भाइले त्यो ऋण बिर्सिए, तर किस्ता र ब्याजले मलाई कहिल्यै बिर्सेन।

धैर्य र कर्तव्यको बाटो : मिनिमलिस्ट जीवन–दर्शन र
‘Survival of the Fittest’- प्रा . डा. नारायण पौडेल

आज बिहान म आफ्ना जुत्ताहरू सफा गर्दै धोइरहेँ। त्यही क्षणमा मैले आफ्नै जीवनको यात्रा सम्झिएँ सम्पत्तिले होइन, जिम्मेवारी, त्याग र कर्तव्यले आकार दिएको यात्रा एक मिनिमलिस्ट, एक जीवन–सर्वाइभरको यात्रा।
आज मैले आफ्नै तीन जोडा जुत्ता धोएँ

• छ वर्षदेखि मेरा पाइलालाई साथ दिइरहेको निलो रङको पुरानो जुत्ता
• पाँच वर्षदेखि साथ दिइरहेको कालो जुत्ता र
• चार वर्ष पुरानो खैरो रङको मेरो हालको ‘नम्बर एक’ जुत्ता।

यी जुत्ताहरू लाई म वर्षौँदेखि पालैपालो प्रयोग गरिरहेको छु। धेरैपटक मर्मत गरेर आजसम्म टिकाइरहेको छु। यी मेरा दैनिक जीवनका मौन साथी हुन् थालेका तर भरपर्दा। साथै, मैले आज बिहानै एक कक्षा पढ्ने मेरो छोराका दुई जोडा सेता जुत्ताहरू पनि धोएँ। जम्मा पाँच जोडा जुत्ता, डेढ घण्टाभन्दा बढी समय यही हो साधारण मध्यमवर्गीय जीवनको वास्तविकता।

तर, मेरा यी पुराना जुत्ताहरूको पछाडि धेरै लामो कथा छ त्याग, जिम्मेवारी र निष्ठाको कथा।
झण्डै पन्ध्र वर्षअघि मैले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १८% ब्याजदरमा पाँच लाख ऋण लिएँ। त्यो सिङ्गै रकम मैले व्यवसायिक समस्यामा परिरहेका आफ्ना भाइलाई सहयोग स्वरूप दिएँ। त्यो ऋण चुक्ता गर्न मलाई एक्लै सात वर्ष लाग्यो । भाइले त्यो ऋण बिर्सिए, तर किस्ता र ब्याजले मलाई कहिल्यै बिर्सेन।

त्यसपछि मैले फेरि चार लाख ऋण लिएँ बुबाको गाईफार्म खोल्ने सपना पूरा गरिदिन। त्यो ऋण पनि अन्ततः मैले नै तिरेँ।
त्यसपछि अर्को पाँच लाख छ वर्षअघि भाइहरूकै समूहलाई चिप्लेमा ‘ड्रिम रिसोर्ट’ खोल्न सहयोग गर्न। आजसम्म पनि म CIT को ऋणको किस्ता तिरिरहेको छु।

कसैले कहिल्यै मेरो अवस्थाबारे सोधेनन्।
तैपनि, म तिर्दै छु मौन रूपमा, निरन्तर।

त्यसपछि मैले जीवनकै एक ठूलो निर्णय लिएँ—मध्यपश्चिम विश्वविद्यालयको एन्डोमेन्ट स्किम अन्तर्गत विद्यार्थी छात्रवृत्ति कोष स्थापना गर्ने आफ्नै एक वर्षको तलब दान पनि गरें। अहिलेसम्म विद्यार्थीहरूले त्यो कोषबाट छात्रवृत्ति पाएका छैनन्, तर म पछुताउँदिन। किनकि मेरो मनले त्यही उचित ठानेको थियो।
मेरा कुनै योगदान ‘फर्केर’ आएका छैनन्। कुनै लगानीले प्रतिफल दिएको छैन।

तर म बाँचिरहेको छु मिनिमलिस्ट दृष्टिकोणसहित जीवनमा आउने प्रत्येक चुनौतीलाई धैर्य, इमानदारी र मनको शुद्धतासहित सहने ‘survival of the fittest’ को आफ्नै परिभाषा सहित।

तर, मेरो कथा त हजारौँ कथा मध्ये एउटा मात्र हो।
यही देशमा कति आमाबाबु आफ्नै सन्तानबाट पीडित छन्।
कति दाजुभाइ र दिदीबहिनीहरूको सम्बन्ध अहंकार, धनको लोभ, शक्ति र प्रतिष्ठाका कारण भत्किएका छन्।

छिटो धनी बन्ने, अरूलाई पछारेर अघि बढ्ने, पश्चिमबाट फुंकिएको यो अस्वस्थ संस्कृति हाम्रो पूर्वीय दर्शन विश्वास, करुणा, दया र पारस्परिक जिम्मेवारी लाई विस्थापित गर्दैछ।
विश्वासको यो पतन ले समाजका सबै तहहरू प्रभावित भएका छन् परिवार, सामाजिक संस्था, व्यापार–व्यवसाय, उद्योग, राजनीति, शासन सबै।

जहाँ कुनै एक तहले आफ्नो कर्तव्य पूरा गर्न छाड्यो, त्यहीँबाट अर्को तह पीडित बन्छ। परिवारले जिम्मेवारी बिर्स्यो भने समाज पीडित हुन्छ।संस्थाले नैतिकता बिर्स्यो भने राष्ट्र पीडित हुन्छ।
व्यक्तिले चरित्र बिर्स्यो भने मानवता पीडित हुन्छ।
आज हामी एक निर्णायक मोडमा छौँ।
यस क्षण हामीले आफ्नै परिवारभित्र भाँचिएको सम्बन्ध गाँस्नु आवश्यक छ।
समाज भर हराइसकेको विश्वास पुनःस्थापित गर्नु जरुरी छ।
हामीलाई जोड्ने मूल्य आपसी माया, सम्मान, सहयोग र जिम्मेवारी फेरि जीवित पार्नु आवश्यक छ।
आउनुहोस् आफ्नो  निःस्वार्थ सेवामार्फत आशा र आकांक्षा पुनः जगाऔँ।
जिम्मेवार परिवार, नैतिक संस्था र सम्मानित राष्ट्र निर्माणमा हातेमालो गरौँ।
सचेत, उत्तरदायी र ममत्वपूर्ण व्यवहार सहित एकअर्काप्रति प्रेम र कृतज्ञता लिएर अघि बढौँ।
किनकि अन्त्यमा
जीवन सर्वाइवल केवल टिकिरहनु मात्र होइन;
हताशाले होइन, शुद्ध हृदयले उठ्नु हो।
पुराना जुत्ता लगाएरै सही
मनको उज्यालो सहित भविष्य तर्फ हिँड्नु हो।

( लेखक मध्यपश्चिम विश्वविद्यालय का निवर्तमान रजिष्ट्रार हुन )

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते शनिवार