रूपान्तरण बिना एकता होइन, गणतन्त्र नै खरानी हुने चेतावनी विप्लव सी
कमल कुमार शाही
स्वाभिमान खबर,२०कात्तिक
काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशमा देखिएको सतही एकता र राजनीतिक नाटकले गणतन्त्रलाई नै संकटमा पुर्याउने चेतावनी दिएका छन्। बिहीबार पार्टीद्वारा सर्वपक्षीय अन्तरिम सरकार गठनको माग गर्दै आयोजित विशाल जनप्रदर्शनपछि भएको जनसभामा सम्बोधन गर्दै उनले रूपान्तरणसहितको वास्तविक एकता नभए देश फेरि अधोगतिको दिशामा धकेलिने बताएका हुन्।

महासचिव विप्लवले हाल विभिन्न वामपन्थी दलबीच देखिएको एकतालाई ‘नवरशको रमाइलो’ भन्दै व्यङ्ग्य गरे। उनले भने, “हिजो भृकुटीमण्डपमा रमाइलो देखियो, तर त्यो रमाइलोमा हाम्रो रस मिसिएन। हामी यथास्थितिवादी एकता होइन, रुपान्तरणसहितको जनपरिवर्तन चाहन्छौं। रुपान्तरण बिना भएको एकता गणतन्त्रलाई नै खरानी बनाउनेछ।”

उनका अनुसार जनयुद्ध र जेनजी विद्रोह दुवै जनताको वास्तविक परिवर्तनका लागि भएको आन्दोलन हुन्, तर सत्ता र शक्ति–संरचनाको अहंकारले तिनलाई अधुरो बनाएको छ। “हामीले जनयुद्ध लड्यौं, तर पार लगाउन सकेनौं,” उनले स्मरण गरे, “त्यसैगरी, जेनजी विद्रोह पनि अधुरो रहन सक्छ, यदि जनताको शासन स्थापना भएन भने।”

विप्लवले जेनजी आन्दोलनलाई शासक वर्गको अहंकारविरुद्धको स्वाभाविक विस्फोटको रूपमा परिभाषित गरे। उनले भने, “भ्रष्टाचार, अटेर र घमण्डले गर्दा यो आन्दोलन जन्मियो। जब राज्य, प्रशासन, कानुन र सत्ता जनताको आवाज नसुन्छ, तब विस्फोट हुन्छ। अहिलेको आन्दोलन त्यही जनआक्रोशको परिणाम हो।”

भ्रष्टाचारविरुद्ध जनकारबाहीको माग
महासचिव विप्लवले भ्रष्टाचारलाई मुलुकको स्थायित्व र विकासको सबैभन्दा ठूलो बाधा ठहर गर्दै भने, “भ्रष्टाचारीहरू खुल्ला सडकमा हिँडिरहेका छन्। जनताको पसिनाको पैसा लुट्नेहरूलाई आजीवन कारावासको सजाय हुनुपर्छ।” उनले शक्तिशाली नागरिक आयोग गठन गरी त्यसले सिफारिस गरेपछि मात्र न्यायालयले फैसला गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
उनले हालको न्यायिक प्रणालीलाई ‘डमी’ र ‘भ्रष्ट’ भन्दै भने, “विशेष अदालत देखावटी छ। सर्वोच्चमा पुग्दा घुस खुवाएर सफाइ पाउने चलन छ। अब यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ।”

सुशीला कार्कीको सरकारमाथि प्रश्न
विप्लवले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई ‘अँध्यारो कोठाबाट आएको रहस्यमय सत्ता’ भन्दै त्यसलाई सर्वपक्षीय अन्तरिम सरकारले प्रतिस्थापन गर्नुपर्ने माग गरे। “यो सरकार कसले बनायो, किन बनायो भन्ने कुरा जनतालाई थाहा छैन,” उनले भने, “जनताको रगत र बलिदानबाट आएको आन्दोलनका मागहरूलाई बेवास्ता गरिएको छ, यो लोकतन्त्रको अपमान हो।”

विदेशी हस्तक्षेप र दलाल प्रवृत्तिप्रति चेतावनी
महासचिव विप्लवले देशमा बढ्दो विदेशी प्रभाव र दलाल राजनीतिप्रति तीव्र असन्तोष जनाउँदै भने, “हाम्रो स्वाधीनता संकटमा छ। दलहरू विदेशीका दलाल बन्दैछन्। यो क्रम रोकिएन भने नेपाल सिरियाजस्तो युद्धभूमि बन्न सक्छ।”
उनले थपे, “नेकपा हुँदासम्म साम्राज्यवादी घुसपैठ सफल हुन सक्दैन। हामी मित्रताको हात फैलाउन तयार छौं, तर हस्तक्षेप स्वीकार्य छैन। यो अमर सिंह र भक्ति थापाहरूको देश हो — त्यसको मर्यादा सबैले बुझ्नुपर्छ।”













प्रतिक्रिया दिनुहोस्