कर्णाली राजमार्ग आजदेखि अनिश्चितकालीन बन्द, जिप दुर्घटनामा शाहीसहित तीन जनाको मृत्यु प्रकरणमा न्याय नपाएको आरोप
कमल कुमार शाही
स्वाभिमान खबर,माघ ५
कालिकोट ।
जिप दुर्घटनामा शाहीसहित तीन जनाको ज्यान गएको घटनामा न्याय नपाएको आरोप लगाउँदै कर्णाली राजमार्ग आज २०८२/१०/५ गते बिहान ६ बजेदेखि अनिश्चितकालीन रूपमा बन्द गरिने भएको छ। पीडित परिवार, हेभी इक्वीपमेन्ट राष्ट्रिय स्वतन्त्रत अपरेटर संघ , आफन्त र स्थानीयले संयुक्त रूपमा राजमार्ग बन्दको घोषणा गरेका हुन्।
मिति २०८२/१०/२ गते राति करिब ७ बजे शुभ कालिका गाउँपालिका–४ अन्तर्गत सेरी–पाल्तडी सडक खण्डको सल्लेडी भन्ने स्थानमा भएको जिप दुर्घटनामा प्यासिफिक जेभी–कर्णवीर विल्डर्श जेभीमा कार्यरत अपरेटर दिपेन्द्र शाही , सो कम्पनीमा कार्यरत दैलेख जिल्ला आठविसकोट न पा ९ का २८ बर्षिय शंकर कठायत र सोही कम्पनीका कामदार कालिकोट जिल्ला शुभ कालिका २का २७ बर्षिय नवराज शाही सहित तीन जनाको मृत्यु भएको थियो। मृतक शाही तुर्माखाद गाउँपालिका–५, नाडा अछामका बासिन्दा हुन्। दुर्घटना भए पनि घटनापछि उनीहरूको पहिचान, उपचार प्रयास र जिम्मेवारीबारे स्पष्ट पहल नदेखिएको पीडित पक्षको गुनासो छ।
पीडित परिवारका अनुसार दुर्घटनाका लागि जिम्मेवार निर्माण कम्पनी प्यासिफिक जेभी–कर्णवीर विल्डर्शका सञ्चालक नवीन गुरुङ तथा पेटी ठेकेदार टोपेन्द्र बुढाले हालसम्म मानवीय संवेदना प्रकट नगरेको आरोप लगाइएको छ। उनीहरू सम्पर्कमा नआउनुका साथै मृतकहरूको शवप्रति अमानवीय व्यवहार देखाइएको भन्दै परिवार आक्रोशित बनेको छ।
यस्तै, उक्त घटनाको निष्पक्ष छानबिन र न्यायिक प्रक्रिया अघि बढाउनुपर्नेमा प्रहरी प्रशासनले पक्षपातपूर्ण, शंकास्पद र गैरजिम्मेवार भूमिका खेलेको आरोप लगाइएको छ। यसले गर्दा पीडित परिवारले न्याय पाउने विश्वास कमजोर बनेको र आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूको भनाइ छ।
मृतक परिवारले न्याय, उचित क्षतिपूर्ति, दोषीमाथि कडा कारबाही तथा घटनाको निष्पक्ष छानबिनको माग गर्दै पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नभएको जनाइएको छ। बरु जिम्मेवार निर्माण कम्पनी तथा सरोकारवाला निकायले घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको र पीडितको आवाज सुनिन नदिएको आरोप उनीहरूले लगाएका छन्।
हाल देवेन्द्र शाहीको शव जिल्ला अस्पताल कालिकोटको शव गृहमा राखिएको छ भने अन्य मृतकका परिवारले समेत न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्। माग पूरा नभएसम्म कर्णाली राजमार्ग अनिश्चितकालीन रूपमा बन्द रहने आन्दोलनरत पक्षको चेतावनी छ।
राजमार्ग बन्दका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा यात्रु आवागमन, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा गम्भीर असर पर्ने देखिएको छ। पीडित पक्षले सरकार, प्रशासन र निर्माण कम्पनीलाई तत्काल वार्तामा आउन र पीडितलाई न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्।














प्रतिक्रिया दिनुहोस्