२०८२ माघ १७ गते शुक्रवार

विशेष महाधिवेशनविरुद्ध देउवा पक्ष सर्वोच्च अदालतमा, आयोगको निर्णयलाई चुनौती



विशेष महाधिवेशनविरुद्ध देउवा पक्ष सर्वोच्च अदालतमा, आयोगको निर्णयलाई चुनौती
कमल कुमार शाही
स्वाभिमान खबर,माघ ५
काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद कानुनी तहमा पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गगन थापाको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । विशेष महाधिवेशनलाई मान्यता दिँदै थापा समूहलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै देउवा समूह अदालत पुगेको हो ।

देउवा पक्षका तर्फबाट नेता पूर्णबहादुर खड्काको नेतृत्वमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता लक्ष्मी दाहाल रावलका अनुसार रिट निवेदन दर्ता प्रक्रियामा रहेको छ । उनले विशेष महाधिवेशन पार्टीको विधि र विधान विपरीत रूपमा आयोजना गरिएको दाबी गर्दै उक्त महाधिवेशनबाट चयन गरिएको नयाँ कार्यसमिति अवैधानिक करार गर्न माग गरिएको जानकारी दिइन् ।

देउवा समूहको भनाइमा पार्टी विधानले व्यवस्था गरेको प्रक्रिया नअपनाई अल्पमतका आधारमा विशेष महाधिवेशन बोलाइएको थियो । त्यसैका आधारमा नयाँ नेतृत्व चयन गरिनु कांग्रेसको संगठनात्मक संरचना र आन्तरिक लोकतन्त्रविरुद्ध भएको उनीहरूको तर्क छ । निर्वाचन आयोगले त्यसलाई मान्यता दिनु गैरकानुनी र अधिकार क्षेत्र बाहिरको निर्णय भएको दाबी रिटमा उल्लेख गरिएको छ ।
उता थापा समूह भने विशेष महाधिवेशन पार्टीभित्रको लामो असन्तुष्टि र कार्यकर्ताको दबाबबाट भएको भन्दै यसलाई वैधानिक र लोकतान्त्रिक प्रक्रिया अनुसार सम्पन्न गरिएको बताउँदै आएको छ । आयोगको निर्णयपछि आफूहरूलाई आधिकारिक नेतृत्वको मान्यता प्राप्त भएको उनीहरूको दाबी छ ।

कांग्रेसको यो विवाद अदालतमा प्रवेश गरेसँगै पार्टीको भविष्य, नेतृत्व संरचना र संगठनात्मक एकतामाथि गम्भीर प्रश्न खडा भएको छ । सर्वोच्च अदालतको आदेशले कांग्रेसको आन्तरिक राजनीतिमा मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा पनि दूरगामी प्रभाव पार्ने देखिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते आइतवार