प्रगतिशील लोकतान्त्रिक पार्टी कञ्चनपुर–१ बाट देपेन्द्र शाहीको उम्मेदवारी दर्ता
कमल कुमार शाही
स्वाभिमान खबर,माघ ६
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले उम्मेदवारी दर्ता गराएको छ। पार्टीका तर्फबाट ४४ वर्षीय देपेन्द्र बहादुर शाहीले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको हो।
देपेन्द्र शाहीको उम्मेदवारीसँगै प्रगतिशील लोकतान्त्रिक पार्टीले कञ्चनपुर–१ मा प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उपस्थिति मजबुत बनाएको छ। उहाँको चुनाव चिन्ह ‘आँखा’ रहेको छ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले जनमुखी राजनीति, सुशासन र समावेशी विकास आफ्नो प्राथमिक एजेन्डा रहेको बताउनुभयो। “कञ्चनपुर–१ का जनताले वर्षौंदेखि भोग्दै आएका समस्या र अपेक्षालाई संसदमा प्रभावकारी रूपमा उठाउने मेरो संकल्प छ,” उहाँले भन्नुभयो, “पुरानै शैलीको राजनीतिभन्दा फरक, परिणाममुखी काम गर्ने नेतृत्व आवश्यक छ।”
प्रगतिशील लोकतान्त्रिक पार्टीका स्थानीय नेताहरूले शाहीको उम्मेदवारीले निर्वाचनमा वैकल्पिक र उत्तरदायी राजनीतिक धार प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्। पार्टीले यस निर्वाचनलाई जनताको भरोसामा आधारित राजनीति स्थापित गर्ने अवसरका रूपमा लिएको जनाएको छ।
स्थापित दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुँदै आएको कञ्चनपुर–१ मा देपेन्द्र बहादुर शाहीको उम्मेदवारी दर्तासँगै चुनावी वातावरण थप रोचक बन्दै गएको छ।














प्रतिक्रिया दिनुहोस्