२०८२ माघ १७ गते शुक्रवार

गृहमन्त्री लेखकलाई झक्कु सुवेदीको जवाफः ‘प्रमाण पुगेको दिन राजीनामा दिने होइन, जेल जानुपर्छ’



गृहमन्त्री लेखकलाई झक्कु सुवेदीको जवाफः ‘प्रमाण पुगेको दिन राजीनामा दिने होइन, जेल जानुपर्छ’

स्वाभिमान खबर ,जेठ २०

काठमाडौं
नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले कर्मचारीहरुलाई दोषी देखाएर उन्मुक्ति नपाउने बताएका छन् । आज (बुधबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी र गृहमन्त्री मिलेर घुस खाएकाले राजीनामा दिएर निष्पक्ष छानविनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

‘आज गृहमन्त्रीज्यू भन्दै हुनुहुन्छ– मैले खाएको होइन । कर्मचारीले खायो, मैले किन जिम्मा लिने ? उहाँले आज यो कुरा भन्दै हुनुहुन्छ । खाने बेलामा मिलेर खाने, दोष कर्मचारीलाई दिएर होला र गृहमन्त्रीज्यू । यो विलकूल हुनेवाला छैन । विगतमा नैतिकताको कुरा उठ्नासाथ अरु मन्त्रीहरुले राजीनामा दिएको कुरा सबैभन्दा बढी गृहमन्त्री रमेश लेखकज्यूलाई थाहा छ,’– उनले भने ।

साथै, शेरबहादुर तामाङले कुनै गलत कुरा नबोल्दा पनि जनमानसबाट विरोध आएको कारण नैतिकताको आधारमा राजीनामा दिएको उनले स्मरण गराए । नेता सुवेदीले आजकाल गृहमन्त्री लेखकले कांग्रेसका नेताहरुसँग जोगाइदेउ भनेर गुहार मागेको उनले बताए । नेता सुवेदीले अब लेखकको बयान कांग्रेसका नेताहरुले नभएर सीआईबी, अख्तियार, उच्चस्तरीय छानविन आयोगलगायतका अख्तियार प्राप्त निकायले लिने पनि उनले बताए ।

‘गृहमन्त्रीज्जूले नेपाली कांग्रेसका नेताहरुसँग मलाई जोगाइदेउ, मलाई जोगाइदेउ भनेर गुहार मागिरहनुभएको छ । उहाँले दुई घण्टासम्म नेपाली कांग्रेसका नेताहरुसँग बयान पनि दिनुभएको छ । तपाईँको बयान त अब नेपाली कांग्रेसले लिने होइन, अब सीआईबीले लिनुपर्छ । तपाईँको बयान त सम्पत्ति सुद्धीकरणले लिनुपर्छ । तपाईँको बयान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिने हो । त्यतिमात्रै होइन, तपाईँको बयान त उच्चस्तरीय छाविन समितिले लिने हो,’– उनले भने ।

साथै, गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण प्रमाणित भएको खण्डमा राजनीति नै छाड्छु भनी दिएको अभिव्यक्तिलाई खण्डन गर्दै उनले उक्त कार्य प्रमाणित भएको खण्डमा जेल जानुपर्ने बताए । उनले प्रश्न उठेपछि अरुलाई प्रमाण नचाहिने, गृहमन्त्री लेखकलाई भने चाहिने भन्ने कुरा नसुहाउने उनले बताए । नेता सुवेदीले गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लागेकाले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उनले आग्रह गरे ।

‘हिजो विपक्षीहरुले संसद्मा राजीनामा मागे । उहाँले भन्दै हुनुहुन्छ, प्रमाण देउ, राजीनामामात्रै होइन, म राजनीति छोड्छु । उहाँले यही भन्नुभएको छ । अरुको त प्रमाण चाहिँदैन, कुरा उठ्नेबित्तिकै राजीनामा गर्नुपर्छ नैतिकताको आधारमा । तर, उहाँलाई प्रमाण चाहिन्छ । प्रमाण पेश भएको दिन तपाईँले राजीनामा दिएर सन्चो पाउनुहुन्न । त्यस दिन तपाईँ राजनीतिमा बस्नुस्, छोड्नुस् जनतालाई त्यसको के अर्थ ? उहाँले म राजीनामा दिन्नँ, प्रमाण चाहियो भन्नुभएको छ । नेपाली जनतालाई उहाँको राजनीतिसँग मतलब छैन । प्रमाण पुगेको दिन गृहमन्त्रीज्यू तपाईँ जेल जानुपर्छ,’– उनले भने ।( sajha page )

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते मङ्गलवार