२०८२ माघ १७ गते शुक्रवार

कञ्चनपुरमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट शाही सहित तीन जनाको एकल सिफारिस



कञ्चनपुरमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट शाही सहित तीन जनाको एकल सिफारिस


कमल कुमार शाही
स्वाभिमान खबर,माघ ३
कञ्चनपुर। प्रगतिशील लोकतान्त्रिक पार्टी कञ्चनपुर जिल्ला कमिटीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको एकल नाम सिफारिस गरेको छ। जिल्ला पार्टी कार्यालय भिमदत्तनगरमा सम्पन्न बैठकको निर्णयअनुसार तीन नेताको नाम सर्वसम्मत रूपमा प्रदेश पार्टी कार्यालयमा सिफारिस गरिएको हो।

जिल्ला कमिटीका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट देपेन्द्र बहादुर शाही, ( मुक्ति ), क्षेत्र नम्बर २ बाट टेकेन्द्र प्रसाद भट्ट र क्षेत्र नम्बर ३ बाट लक्ष्मी दत्त जोशीलाई प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा एकल सिफारिस गरिएको छ।

पार्टीले संगठनप्रति निष्ठावान्, जनआधार भएका र लामो समयदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय नेताहरूलाई उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ। आगामी निर्वाचनमा कञ्चनपुरमा पार्टीको उपस्थिति सुदृढ बनाउने तथा जनताको विश्वास जित्ने लक्ष्यसहित एकल सिफारिस गरिएको पार्टीको दाबी छ।

जिल्ला प्रमुख अमर सिंह विष्ट र जिल्ला इन्चार्ज राम बहादुर देवकर ( रक्तविज )को हस्ताक्षरसहित प्रदेश पार्टी कार्यालय, धनगढी कैलालीलाई पठाइएको सिफारिस पत्रमा केन्द्रबाट आवश्यक निर्णय गरी उम्मेदवारलाई औपचारिक रूपमा अगाडि बढाउन अनुरोध गरिएको उल्लेख छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी कञ्चनपुरले उम्मेदवार सिफारिससँगै जिल्लामा चुनावी गतिविधि तीव्र बनाउने तयारी गरेको छ। पार्टी नेतृत्वले जनमुखी एजेन्डा, संगठन विस्तार र अनुशासित चुनावी अभियानमार्फत आगामी निर्वाचनमा सकारात्मक नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ माघ ४ गते शनिवार